संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका लागि दीर्घकालीन र ठोस कार्यक्रम ल्याउने घोषणा गरेका छन्।
बुधबार वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको बालिका, किशोरी र महिलाहरूको आत्मरक्षा तालिम उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। मन्त्री यादवले सरकारले महिलालाई सक्षम बनाउनका लागि महिला सशक्तिकरणका नीतिहरू अवलम्बन गरेको बताए।
मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका हजारौं छात्राहरुलाई एकै ठाउँमा आत्मरक्षाका तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गरे। उनले यस तालिमले छात्राहरुलाई आत्मविश्वास र आत्मबल बढाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै, नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षकहरुले निशुल्क तालिम दिँदा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने धारणा राखे।
मन्त्री यादवले तालिममा सहभागी भएको महिलाहरु अब घरेलु र अन्य हिंसाका घटनामा प्रतिकार गर्न सक्षम हुने विश्वास व्यक्त गरे। उनले महिलाहरुलाई ‘सेल्फ डिफेन्स’ अर्थात् प्रतिकार गर्न सक्ने प्रमाणित भएको दाबी गरे। कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले तालिमको शुरुवात भएको बताए र आगामी दिनमा वीरगञ्जका हरेक विद्यालयमा हरेक शुक्रबार आत्मरक्षाको तालिम सञ्चालन गर्ने आश्वासन दिए। उनले १५ हजार १ सय छात्राहरुलाई तालिमका लागि नाम दर्ता गराएको र १२ हजार ९ सय ७४ जनाको विवरण गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाइसकेको जानकारी पनि दिए। कार्यक्रममा भारतका प्रसिद्ध प्रशिक्षक डा. यजनेश चिता शेट्टी (मास्टर चित्ताले) तालिम दिनु भएको थियो। उनले आत्मरक्षाका कला र सीपलाई महत्त्वपूर्ण बताउँदै यसले संकटका बेलामा महिला र किशोरीहरुलाई ठूलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, राप्रपा सांसद बिना जयसवाल, प्रदेश सांसद बिना शर्मा, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल, भारतीय महावाणिज्य दूत देवी सहाय लगायतको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तव्य व्यक्त गर्दै समापन गरेका थिए।