धनुषाको कमला नगरपालिकाले हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व कार्तिक पूर्णिमाका अवसरमा आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा दिएको छ। कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले जानकारी दिँदै नगरपालिकाभित्रका सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र नगर कार्यपालिकामा समेत बिदा हुने घोषणा गरेका छन्।
कमला नदीमा स्नान गर्दै पूजापाठ गर्ने परम्परालाई मध्यनजर गर्दै यो विदा प्रदान गरिएको जनाइएको छ। परापूर्वकालदेखि नै श्रद्धालुहरूले कमला नदीमा स्नान गरेर कमला माताको पूजा गर्दै भूत मेला मनाउने परम्परा रहेको छ। यस अवसरमा धनुषा, सिरहा, महोत्तरी, सप्तरी, उदयपुर र भारतका सीमावर्ती क्षेत्रका लाखौँ श्रद्धालु भक्तजनहरू कमला नदीमा स्नान गर्न आउने गर्दछन्।
धार्मिक विश्वास अनुसार, सिकारु धामीझाँक्रीहरूले यस दिन तन्त्रमन्त्रसहित स्नान गरेपछि तान्त्रिक विद्यामा निपुण हुने मान्यता छ। यो पर्वको क्रममा धामीझाँक्रीहरूले आफ्नो देवता खेल्दै नदीमा स्नान गरी शक्तिसम्पन्न हुने र कमलेश्वर देवीको आशीर्वाद प्राप्त हुने विश्वास गरिएको छ। यसैगरी, श्रद्धालु भक्तजनहरूले कमला नदी र गङ्गासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्दछन्।
संस्कृतिविद् एवं साहित्यकार राजेन्द्रप्रसाद विमलका अनुसार, यो मेला लोकआस्थाको रूपमा रहेको र यसलाई अन्धविश्वासका रूपमा नलिई सांस्कृतिक परम्पराको रूपमा स्विकार्नुपर्ने कुरा बताएका छन्। यद्यपि, पछिल्लो समय कतिपयले यस परम्परालाई अन्धविश्वासका रूपमा समेत परिभाषित गर्न थालेको पाइन्छ।