अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र ब्यांकले १४ भदौका लागि डलरको सन्दर्भ मूल्य ११३ रुपैयाँ २५ पैसा तोकेको छ ।
अघिल्लो दिन ११२ रुपैयाँ ४७ पैसा रहेको डलरको भाउ एकै दिनमा ७८ पैसा महंगिएको हो । वाणिज्य ब्यांकहरुले ११३ रुपैयाँ ४० पैसाको हाराहारीमा डलरको बिक्री दर तोकेका छन् । मनी चेञ्जरबाट डलर खरीद गर्नुपरेमा योभन्दा पनि महंगो पर्छ ।
नेपाली रुपैयाँलाई भारतीय रुपैयाँ (भारु)सँग स्थिर विनिमय दर कायम गरिएकाले डलरको तुलनामा भारु सस्तो हुँदा नेपाली मुद्राको भाउ पनि घटेको हो । तीन महिनाअघि, १४ जेठमा राष्ट्र ब्यांकले तोकेको सन्दर्भ मूल्य १०८ रुपैयाँ ७५ पैसा थियो । यसबीच डलरको भाउ साढे ४ रुपैयाँ बढिसकेको छ ।
विनिमय बजारमा भारतीय मुद्राको भाउ लगातार खस्किंदै जाँदा नेपाली मुद्राको तीव्र अवमूल्यन भएको छ । १३ भदौमा भारतीय मुद्रा बजारमा एक अमेरिकी डलर बराबर ७०.८० भारुमा कारोबार भएको थियो । यो नयाँ कीर्तिमानी मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा आएको भारी वृद्धिले भारतीय चालु खाता घाटा चुलिएको छ । त्यसको असर भारुको मूल्यमा परेको छ ।
उता ‘डालो मुद्रा’ भनिने विश्वका प्रमुख ६ मुद्राहरुको तुलनामा डलरको भाउ लगातार उकालो लागिरहेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रको व्यापार नीतिले पनि ‘ग्रीन ब्याक’ भनिने डलरको भाउ महंगिदै गएको छ ।
असर
अमेरिकी मुद्रा महंगो पर्दा नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रमा घाटामात्रै बढ्दै जान्छ । नेपालको निर्यात व्यापार ज्यादै कम भएकाले मुद्राका कारण सिर्जना हुने प्रतिस्पर्धात्मक लाभबाट नेपालले फाइदा लिन सक्ने अवस्था छैन ।
बरु जलविद्युत् जस्ता पुर्वाधार निर्माणको लागि आवश्यक पर्ने हरेक सामानको भाउ महंगिने निश्चित छ । मूल्य वृद्धिलाई कठोर रुपमा नियन्त्रण गर्ने सरकारी लक्ष्यलाई कमजोर पार्न महंगो डलरले भूमिका खेल्न सक्छ । जलविद्युत् आयोजनाहरुमा डलरमै विद्युत् खरीद सम्झौता (पीपीए) गर्ने तर्फ सरकार र विद्युत् प्राधिकरण अघि बढेको अवस्थामा ती आयोजनाले उत्पादन गर्ने बिजुलीवापत्को भुक्तानी पनि बढ्दै जान्छ ।
ऐतिहासिक रुपमा डलर बलियो हुँदै गएकाले यो जोखिम अझ तीव्र हुने देखिन्छ । तेस्रो मुलुकबाट आयात गर्दा महंगो पर्ने हुँदा भारतप्रतिको व्यापार निर्भरता अझ बढ्नेमा कतिपय अर्थशास्त्रीको विश्वास छ । उनीहरुका अनुसार अहिले पनि नेपाली मुद्रा कृत्रिम रुपमै महंगो बनाइएको छ । यस्तो बिचार राख्नेहरुले डलर अझ महंगो हुनुपर्ने मात्र होइन, भारुसँगको विनिमय दर पनि पुनरावलोकन गरेर नेपाली मुद्रालाई कमजोर बनाउनु पर्ने बताउँछन् ।