आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेसका दुई ठूला दलका अध्यक्षहरू उपेन्द्र यादव र सिके राउतमाथि कडा टिप्पणी गरेका छन्। आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा साहले जसपा नेपालका अध्यक्ष यादवलाई ‘डराएको मूसो’ र जनमत पार्टीका अध्यक्ष राउतलाई ‘रङ्ग फेर्ने छेपारो’को उपमा दिएका हुन्।
साहले जसपा अध्यक्ष यादवलाई सत्ता र प्रतिपक्षबिच स्पष्ट अडान लिन नसकेको आरोप लगाउँदै भने, “उपेन्द्र यादव पानीमा काँपेको मूसोझैँ देखिएका छन्। उनी सत्ता पक्ष हुन् कि प्रतिपक्ष, चिन्न गाह्रो छ।” यस्तै, राउतलाई दोहोरो चरित्रको आरोप लगाउँदै भने, “रवि लामिछाने पक्राउ पर्दा विरोध गर्ने राउत पछि सत्ता पक्षसँग सहमतिमा हस्ताक्षर गर्छन्। यस्तो प्रवृत्तिले नेताको विश्वसनीयता गुमाउँछ।”
तर, साहले यी दुई दलभित्र केही नेताहरू सङ्घीयता र देश निर्माणका लागि इमानदार रहेको प्रशंसा पनि गरे।
भ्रष्टाचारविरुद्ध अभियानको घोषणा
प्रभु साहले आफ्नो पार्टीले मधेसमा भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सुरु गरेको जानकारी दिए। “भ्रष्टाचारलाई हटाउन जनतामा चेतना बढाउन आवश्यक छ। जबसम्म जनता सचेत हुँदैनन्, तबसम्म भ्रष्टाचार अन्त्य हुँदैन,” उनले भने।
सरकारमाथि आरोप
साहले सरकारले आफ्नो अभियानलाई रोक्न प्रयास गरिरहेको आरोप लगाउँदै भने, “राजविराज जाने क्रममा प्रहरीद्वारा ठाउँठाउँमा दुःख दिइएको छ। माथिल्लो आदेशका नाममा यस्तो गरिएको पाएको छु।”
साहको अभिव्यक्तिले मधेसको राजनीतिक भविष्य र भ्रष्टाचारविरुद्धको अभियानमा नयाँ बहसलाई उत्प्रेरित गरेको छ।