बालबालिका भविष्यका होनहार रत्न हुन् । उनीहरुको उज्वल भविष्यसँग मुलुक र समाजको पनि भविष्य जोडिएको हुन्छ । परिवार, समाज, देशवाशी र समग्र राष्ट्रको भविष्यलाई उज्यालो पार्ने हो भने अहिलेबाट बालबालिकाको दीनचर्या सुधार्न थाल्नुको अर्को विकल्प छैन । बालबालिकालाई डर, धाक र धम्की सहितको व्यवहार कुनै अर्थमा प्रभावकारी छैन । अनि काममा लगाउने जोताहा प्रवृति त कुनै अर्थमा युक्तिसंगत छैन । तर अपसोच नेपालको परिवेशमा भने अधिकांश बालबालिका अभिभावक, मालिक, समाज र देशको अदूरदर्शी नीति कार्यान्वयनको शिकार भइरहेका छन् । उनीहरुको भविष्यको हेक्का उति खासै गरेको पाइन्न । केही कुलिन वर्ग र सभ्रान्तहरु वाहेक नेपाली बालबालिका अरुकै चंगुलमा फसिरहेका छन् । मुलुकमा राजनीतिक परिवर्तनले निकै छलाङ्ग मारेको छ । बालबालिकाको भविष्यको भने छलाङ्ग मार्न सकेको छैन । गणतान्त्रिक मुलुकका बालबालिकाको वर्तमान अवस्था कस्तो छ ? भन्ने सन्दर्भमा मध्य नेपालले सरोकारवाला निकाय र समाजका अगुवाहरुसँग लिएको प्रतिक्रिया :
नारायणप्रसाद भट्टराई
प्रमुख जिल्ला अधिकारी, पर्सा
बालबालिकाको समग्र अवस्थाको बारेमा भन्नु पर्दा पहिला उनीहरुको अधिकारको कुराहरु जोड्न पर्ने हुन्छ । बालबालिकाको अधिकारको कुरा उनीहरुको शिक्षा स्वास्थ्य र परिवारसंगको बसोबास लगायतको कुराहरुसँग जोडिन्छ । त्यसमा शिक्षा क्षेत्रको कुरा गर्दा विद्यालय जाने वालवालिकाको संख्या बढे पनि विद्यालय छोड्नेको संख्या पनि उतिकै बढ्दो छ । स्वास्थ्यको कुरा गर्दा विभिन्न खोप भिटामिन्स लगायतका औषधिहरु प्रदान भैरहेकै छन् । वालवालिकाको परिवारसंग बस्न पाउने वातावरणको सृजना गराउन पहल भैरहेकै छ । समग्ररुपमा भन्नु पर्दा बालबालिकाको अवस्था खराब छैन । तर वालबालिकाको संरक्षण, विकास र सहभागिताको बारेमा अझै पनि निर्णय लिंदा उनिहरुको सहभागिता र समावेसिता कल्पना बाहिरै छ । त्यो संस्कार अझै बसिसकेको छैन । त्यसैले वालअधिकार प्रबन्धका लागि सरकारी गैरसरकारी लगायत नागरिक समाज परिवार सबै जुट्न पर्ने देखिन्छ । उनीहरुको अधिकार सुनिश्चित गर्न अझै केही गर्न बाँकी छ ।
विजय कुमार सरावगी (नगर प्रमुख )
वीरगंज महानगरपालिका पर्सा
बालबालिकाको क्षेत्रमा जति कार्य हुनुपर्ने हो त्यति अझै हुन सकेको छैन । हामीले विशेष गरी शिक्षा स्वास्थ्य र प्रजनन्लाई ध्यान दिनु पर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा नेपाल सरकारले विभिन्न योजनाहरु ल्याए पनि त्यो त्यति प्रभावकारी हुन सकेको छैन । स्थानीय तहमा पनि श्रोत साधनको अभावले गर्दा वालवालिकाहरुका लागि गर्नु पर्ने कामहरु बाँकी नै छन् । र त्यो विस्तारै विकसित हुदैछ ।
सावित्री भण्डारी (अधिकृत )
जिल्ला वाल कल्याण समिति, पर्सा
पछिल्लो समयमा वालवालिकाको तथ्याँक संकलन नगरिएकोले संख्यात्मक रुपमा बताउन गाह्रो छ । तर पनि वालाधिकारको कुरा गर्दा शिक्षामा राम्रो छ । विद्यालयमा वालवालिकाको सहभागिता बढेको छ । समुहमा पनि वालवालिकाको सकृय सहभागीता छ । वाल संजालको गठन भैरहेकै छ । पर्सा जिल्लाको अहिलेको समस्या भनेको बालश्रम रहेको छ । वालश्रममा संलग्न रहेका बालबालिकाको बारेमा बुझ्दा छिमेकी राष्ट्र भारतका वालवालिका रहेकाले पर्सा जिल्लाका वालवालिका बढि वालश्रममा रहेको जस्तो देखिन्छ । अहिले वालवालिकाहरु लागुपदार्थ ओसारपोसारमा संलग्न देखिएका छन् । समग्रम भन्नु पर्दा पर्सा जिल्लाका ७० प्रतिसत वालवालिकाहरुले आफ्नो अधिकार पाएका छन् ।
शेखर चौधरी ( अध्यक्ष )
विरगंज जेसिस
पहिलेको तुलनामा अहिले क्रमिक रुपमा सुधार हँुदै आइरहेको छ । दलित समुदायको बालबालिका शिक्षामा पिछडिएका नै छन् । अहिले सरकारले पनि बालबालिकाका लागि शिक्षामा निःशुल्क प्रदान गर्ने भनेर विभिन्न योजना ल्याएता पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । सरकारले प्रदान गर्दै आइरहेको सेवा सुविधाहरु पनि सम्बन्धित निकाय र शिक्षक वर्गहरुले कर्तव्य पालन गर्दा बालबालिकाको शिक्षामा पहुँच पुग्ने थियो । सडकका बालबालिकाहरुलाई पनि व्यवस्थापन गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुले अनुगमन गरी शिक्षामा जोड दिंदा अझ प्रभावकारी रहन्छ ।
छेडुप लामा (प्रधानाध्यापक)
मैस्कट एकाडेमी, वीरगंज ५ पर्सा
अहिले शिक्षामा वालवालिकाको पहुँच सहज र सहभागीतामा वृद्धि भए पनि विद्यालयले विद्यार्थी अनुकुलको वातावरण तयार गर्न नसकिरहेको अवस्था छ । विद्यालय भर्ना अभियान र दिवा खाजा सेवाले विद्यालयमा वालवालिकाको संख्यालाई वृद्धि गराए पनि यो अभियानले दलित र सिमान्तकृत समुदायका वालवालिकालाई छुन नसकेको जस्तो लाग्छ । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा अझै पनि केहि वालवालिकाहरु पौष्टिक आहारको अभाव झेलिरहेकै छन् ।
शवनम् श्रेष्ठ ( प्रधानाध्यापिका )
रोयल एकेडेमी वीरगंज १२ पर्सा
विद्यालय शिक्षामा सहरी वालवालिकाको पहँुच पुगे पनि ग्रामिण क्षेत्रका वालवालिकाहरु अझै पनि घरको कामकाजमै व्यस्थ छन् । उनिहरुले पढ्ने वातावरण पाएका छैनन् । अहिले पनि वीरगंजका गल्ली गल्लीका होटलहरुमा कापी कलम समाउने हातके अरुका जुठा भाँडा समाउन बाध्य नै छन् । ति होटलका वालवालिकालाई न त बालश्रमले नै छोएको छ । न त सरकारको वालाधिकारले नै । अझै पनि वालवालिकाहरुको अवस्था दयनीय नै छ ।
शुशिला भण्डारी ( एजेन्सी म्यानेजर )
नेपाल लाईफ ईन्स्योरेन्स, वीरगंज शाखा
सरकारले ल्याएको नीतिले अहिले सबै वालवालिकाहरु विद्यालय शिक्षाबाट वन्चित हुनु परेको छैन । केहि वालवालिका छुटेका छन् । तर ती अपवादमा मात्रै छन् । प्रदेश सरकारको नीतिले अहिले विद्यालयमा किशोरीहरुको सहभागीता पनि उतिकै बढेको छ । स्थानिय सरकारले पनि वालवालिकाको क्षेत्रमा राम्रो योजनाहरु ल्याएको छ । पछिल्ला दिनहरुमा विस्तारै विस्तारै सबै वालवालिकाहरु आफ्नो अधिकारबाट वन्चित हुने छैनन् ।
सिम्रन थापा (अध्यक्ष )
जिल्ला बाल संजाल पर्सा
पर्सा जिल्लाको सन्दर्भमा वालवालिकाको अवस्थामा पहिलेभन्दा अहिले केहि परिवर्तन भएको छ । तर पुर्ण रुपमा हुन सकेको छैन । अहिले दिवा खाजा सेवाले धेरै वालवालिकाहरु विद्यालय पुगे पनि विद्यालय छाड्ने वालवालिकाको संख्यामा कमि आउन सकिरहेको छैन । दिवा खाजा सेवा जस्तै वालवालिकाको लागि छुट्टै योजना सरकारले ल्याउनु पर्ने देखिन्छ । त्यस्तै गरेर रज्जस्वला भएको समयमा पनि किशोरीहरु विद्यालय गयल नहोउन भन्नेका लागि सेनेटरी प्याड्को योजनालाई पनि प्रभावकारी बनाउनु पर्ने देखिन्छ । त्यस्तै स्थानीय सरकारले सिमान्तकृत र दलित समुदायका विद्यार्थीहरुका लागि पनि विद्यालयमा सजिलै घुलमिल हुन सक्ने वातावरणको सृजना गर्नुपर्छ ।