नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम न्यूनीकरण गर्न सरकारले आगामी माघ २२ गतेदेखि देशभर निःशुल्क एचपीभी खोप वितरण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइनेछ।
विश्व क्यान्सर दिवसकै अवसरमा खोप अभियान
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भमा माघ २२ देखि फागुन ६ सम्म विद्यालय केन्द्रित खोप अभियान सञ्चालन हुने जानकारी दिए। खोपबाट पाठेघरको मुखको क्यान्सर रोकथाममा ९० देखि ९५ प्रतिशतसम्मको प्रभावकारिता रहने उनले बताए।
देशभर २७ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार ९ सय विद्यालयमा खोप केन्द्र सञ्चालन हुनेछन्। साथमा, ८ हजार २ सय अन्य खोप केन्द्रहरू पनि रहनेछन्। यो अभियानका लागि २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक, र १५ हजार ६ सय ७४ सुपरिवेक्षक परिचालित हुनेछन्।
नेपालमा क्यान्सरको अवस्था
पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ अनुसार नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलामा यो क्यान्सर देखिन्छ भने हरेक वर्ष १ हजार ३ सय १३ महिलाको मृत्यु हुने अनुमान छ।
एचपीभी खोप के हो?
पाठेघरको मुखको क्यान्सर रोक्न मानव प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप मुख्य उपाय मानिन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरसले ९५ प्रतिशतभन्दा बढी क्यान्सर गराउँछ। यौन सम्पर्क नभएकी ९ देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि यो खोप विशेष रूपले सिफारिस गरिन्छ।
नेपाल सरकारले यसअघि कास्की र चितवनमा पाइलट परियोजना अन्तर्गत यो खोप सफलतापूर्वक वितरण गरेको थियो। हाल यो खोप गाभी र नेपाल सरकारको सहकार्यमा देशभर उपलब्ध गराउन लागिएको हो।
विश्वव्यापी लक्ष्य
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म क्यान्सर निवारणका लागि ९०-७०-९० को लक्ष्य राखेको छ। जसअनुसार १५ वर्षभित्र ९० प्रतिशत किशोरीलाई खोप लगाउने, ७० प्रतिशत महिलालाई ३५ र ४५ वर्षको उमेरमा परीक्षण गराउने, र ९० प्रतिशत संक्रमित महिलाको उपचार गर्ने लक्ष्य रहेको छ।