विद्यालय स्तरका खेलकुद गतिविधिलाई व्यवस्थित बनाउन नेपाल विद्यालय खेलकुद महासङ्घको जिल्ला कार्यसमिति गठन गरिएको छ। आइतबार वीरगञ्जमा सम्पन्न भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो।
समितिमा उपाध्यक्ष दिपक साह र राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष विजय कुमार बल तथा अन्य सदस्यहरूमा मनीषा सुनुवार श्रेष्ठ, उत्तम गुप्ता, राम दरेस साह, लालबहादुर गुरुङ, विमला गुप्ता, हिमांशु पाख्रिन, राम नरेश यादव, र पृथ्वी आलोक रहेका छन्।
नेपाल विद्यालय खेलकुद महासङ्घ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको निकाय हो। यसले विद्यालयबाट खेलकुद प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजाने मुख्य उद्देश्य राखेको छ।
नवनिर्वाचित अध्यक्ष चौरसियाले पर्सा जिल्लामा विद्यालय खेलकुदलाई व्यवस्थित गर्दै सहरी र ग्रामीण क्षेत्रका विद्यार्थीबीच सहभागिता बढाउने प्रतिबद्धता जनाए। महासङ्घले प्रतियोगिता, तालिम, र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीलाई अनुशासन, नेतृत्व विकास, र स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा सहयोग पुर्याउने बताए।
महासङ्घले विगतमा राष्ट्रिय स्तरका प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेलेको छ। नयाँ कार्यसमितिले पनि यसलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।