चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत पुगेको छ। यस आवमा महँगाई ५ प्रतिशतभन्दा तल राख्न नेपाल राष्ट्र बैंक सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ७.५० प्रतिशत थियो।
खाद्य र गैरखाद्य समूहको मुद्रास्फीति
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशत थियो।
खाद्य मूल्यवृद्धि र भिन्न क्षेत्रीय परिवर्तन
असोजसम्म खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको उपभोक्ता मूल्य सूचकांक २५.१५, दाल तथा गेडागुडी १०, खाद्य र खाद्यजन्य पदार्थ ९.५७ प्रतिशत रहेको छ। माछामासु, मरमसला र चिनीका मूल्य घटेको देखिएको छ।
ग्रामीण भेगमा ५ प्रतिशत र सहरी भेगमा ४.७६ प्रतिशत मूल्यवृद्धि भएको छ।
प्रदेशवार मूल्यवृद्धि
प्रदेशगत हिसाबले कोशी प्रदेशमा ६.२६ प्रतिशत, मधेशमा ५.०८ प्रतिशत, बागमतीमा ४.२४ प्रतिशत, गण्डकीमा ३.९८ प्रतिशत, लुम्बिनीमा ४.४२ प्रतिशत, कर्णालीमा ३.२५ प्रतिशत र सुदूरपश्चिममा ६.५६ प्रतिशत मूल्यवृद्धि भएको छ।
काठमाडौं उपत्यकामा महँगाई ४.५० प्रतिशत रहेको छ। पहाडमा ४.३२ प्रतिशत, तराईमा ५.२३ प्रतिशत र हिमालमा ५.०८ प्रतिशत मूल्यवृद्धि भएको छ।