विश्वहिन्दू परिषद् धनुषाले अयोध्यामा राम मन्दिर ट्रष्टका सचिव चम्पत्त राय र विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलाई तिलक हस्तान्तरण गरी सोमवार फर्किएको छ।
परिषद् धनुषाले भगवान सीताराम विवाह महोत्सवमा सहभागी हुन अयोध्या तिलक लिएर गएको थियो। विगतमा, जानकी मन्दिरले भोजपत्र (निम्तो पत्र) हजाम (ठाकुर)मार्फत अयोध्या राम मन्दिरका सन्तहरूलाई पठाउने गरेको थियो। तर यस पटक, विश्वहिन्दू परिषद् धनुषाले अयोध्याका सदस्यहरूको विशेष आग्रहमा तिलकको भारसँगै भोजपत्र पनि लिएर गएको थियो। परिषद्ले पूर्व निर्धारित कार्यक्रम अनुसार सोमवार बिहान राम मन्दिर ट्रष्टका सचिव राय र विश्वहिन्दू परिषद् अयोध्याका महासचिव पंकजलाई तिलक हस्तान्तरण गरेको हो। तिलक कार्यक्रमलाई भगवान रामको तिलकोत्सव लेखिएको बैनर लगाइएको थियो। तिलक हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह, उनीसँगै गएका मधेश प्रदेशका मन्त्रीहरू, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायत श्रद्धालुहरूको सहभागिता थियो।
अयोध्या जिल्लाको अतिथि गृहमा मुख्यमन्त्री सिंहले बास पाए पनि मन्त्री र सभासदहरू राम मन्दिर ट्रष्टको धर्मशालामा बसेका थिए। बिना सरकारी आमन्त्रण अयोध्या पुगेका मुख्यमन्त्री सिंह, मन्त्री र सभासदहरूले ठूलो तिरस्कार सहनु परेको एक मन्त्रीले बताए। उनले भने, "हामी अचानक आइपुगेको कारण विशिष्ट व्यवस्था हुन सकेन।" मुख्यमन्त्री सिंह बसेको सर्किट हाउसमा लामखुट्टेको प्रकोप रहेकाले, मन्त्री र सभासदहरू ट्रष्टको धर्मशालामा बसेका थिए। यद्यपि, राम मन्दिरमा दर्शनका लागि लाम लाग्नु नपरेको मन्त्रीले बताए। "विश्वहिन्दू परिषद् का सदस्यहरूले सोझै मन्दिरमा लगेर दर्शन गराइदिएका छन्," उनले भने।
मुख्यमन्त्री सिंहसहितको सरकारी टोलीलाई अयोध्याका कुनै सरकारी कर्मचारी अथवा नगर निगमका पदाधिकारीहरूले भेंटेनन्। मुख्यमन्त्री सिंहलाई विश्वहिन्दू परिषद् अयोध्याका महासचिव पंकज र राम मन्दिर ट्रस्टका सचिव रायले निम्तो पठाए पनि अन्य मन्त्री र सभासदहरूलाई कुनै आमन्त्रण प्राप्त भएको थिएन। मन्त्रीहरू अयोध्या जाँदा परराष्ट्र मन्त्रालयको स्वीकृति समेत लिएका थिएनन्। निम्तो बिना अयोध्या गएका मुख्यमन्त्री सिंह लगायतका मन्त्रीहरूको भारतमा कुनै प्रतिष्ठा नरहेको भारसँगै गएका श्रद्धालु र व्यवसायीहरूले जनाएका छन्।
तिलकको भारको नेतृत्व गरेको विश्वहिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको समूहमा मुख्यमन्त्री सिंह सहितको टोली आइतवार वीरगञ्जबाट अयोध्या गएका थिए। भगवान रामको तिलक अयोध्यामै गरिसकेपछि जानकी मन्दिरले आयोजना गर्दै आएको तिलकोत्सवमाथि पनि प्रश्न उठेका छन्। "जानकी मन्दिरले हजाम मार्फत पठाउने भोजपत्र (निम्तो) लिएर गएको टोलीले भगवान रामलाई तिलक चढाइसकेपछि एउटै विवाहका लागि कतिपटक तिलक चढाइने?" गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले प्रश्न उठाएका छन्। उनले अयोध्या तिलक लगिएको परम्परागत मूल्य र मान्यता विपरीत भएको भन्दै विरोध जनाएका छन्।
मुख्यमन्त्री सिंहसँगै अयोध्यामा रहेका एकजना मन्त्रीले मंगलवार बिहान जनकपुरधामको लागि प्रस्थान गर्ने जनाएका छन्।