नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच तीन दिनदेखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ। बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि संयुक्त प्रयासलाई मजबुत बनाउने निष्कर्ष निकालेको छ।
बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादले ११ वटा एजेण्डामा छलफल गरेका थिए। त्यसपछि दुवै पक्षले संयुक्त हस्ताक्षर गरेका छन्।
संयुक्त प्रतिबद्धतापत्रमा सीमापार अपराध नियन्त्रण, सीमा सुरक्षामा सहकार्य, सूचना आदानप्रदान, राजस्व चुहावट नियन्त्रण, लागुऔषध तस्करी र तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश नियन्त्रणका बारेमा कदम चाल्ने विषय समावेश छन्।
सहभागी गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार, बैठकले सीमा सुरक्षामा सुधार ल्याउने, दशगजा क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने, मानव बेचबिखन र सुन तस्करी नियन्त्रणमा संयुक्त पहल गर्ने लगायतका विषयमा नयाँ निर्णय गरेको जानकारी दिएका छन्।
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए। भारतको प्रतिनिधित्व गर्न एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली उपस्थित थियो।
बैठकमा भारतीय पक्षले तेस्रो मुलुकका नागरिकहरूको पहिचानमा समस्या भएको र त्यसको समाधानका लागि आपसी सहकार्य आवश्यक भएको धारणा प्रस्तुत गरेको थियो। यसका साथै, भारतले नेपाल हुँदै तेस्रो मुलुकका नागरिकलाई भारततर्फ सुन तस्करी गर्ने गतिविधि बढेको भन्दै त्यसको नियन्त्रणमा सहकार्यको आवश्यकता औंल्याएको छ।
यस बैठकको आयोजना प्रत्येक वर्ष नेपाल र भारतमा पालैपालो हुँदै आएको थियो, तर अब हरेक छ, छ महिनामा पालैपालो बैठक बस्ने प्रस्तावसमेत पारित भएको छ। दुवै पक्षले सीमा सुरक्षा अधिकारी र जिल्लास्तरीय अधिकारीहरूको बैठक नियमित रूपमा बस्ने सहमति जनाएका छन्।