खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले वीरगन्जका होटलहरूको वर्गीकरण तथा लोगो नवीकरण प्रक्रिया सुरू गरेको छ। यस क्रममा होटलहरूको भान्सा सफाइ, खाद्य भण्डारण विधि, कोल्डचेन प्रविधि तथा स्वच्छतासम्बन्धी विभिन्न मापदण्डका आधारमा अनुगमन गरिएको हो।
अनुगमन टोलीको नेतृत्व खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहले गरेका थिए। टोलीले वीरगन्जका १० होटलहरूको निरीक्षण गरी तिनलाई खाद्य स्वच्छताको आधारमा वर्गीकृत गरेको छ। सरोवर प्रोटिक होटल, होटल दियालो, र भिस्वा होटललाई "अति उत्तम (3 स्टार)" श्रेणीमा राख्दै लोगो प्रदान गरिएको छ। होटल पुजन, मकालु, र अनमोल स्वीटलाई "उत्तम (2 स्टार)" लोगो दिइएको छ भने कन्ट्री इन्न, कैलाश होटल, र मेजवान होटललाई "1 स्टार" लोगो प्रदान गरिएको छ।
डिलाइट गो रेस्टुरेन्टलाई "सामान्य" सूचकाङ्क दिइएको छ र सुधार गर्न निर्देशन प्रदान गरिएको छ।
खाद्य स्वच्छताको मापदण्डमा सुधार गर्न होटल सञ्चालकहरूलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको छ।
यस अभियानमा बाणिज्य कार्यालय वीरगन्जका सुनिल चौरसिया, वीरगन्ज उद्योग वाणिज्य संघका मनोज कुमार दास, महानगरका प्रतिनिधि विभा मिश्र, र जिल्ला प्रशासन तथा प्रहरी कार्यालयका अधिकारीहरूको उपस्थिति थियो। होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले उपभोक्ताहरूलाई हाइजेनिक खाना उपलब्ध गराउन सबै होटललाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।