भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृङ्खला आजदेखि सुरु भएको छ। बोर्डर-गावस्कर ट्रफी २०२४/२५ अन्तर्गत पहिलो टेस्ट खेल आज अष्ट्रेलियाको पर्थमा भइरहेको छ। पहिलो दिन भारतीय टोलीले खराब प्रदर्शन गर्दै पहिलो पारीमा १५० रनमै समेटियो।
भारतका डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषभ पन्तले ३७ र केएल राहुलले २६ रनको योगदान गरे। यी तीन खेलाडीबाहेक ध्रुव जुरेलले मात्रै दोहोरो अंक छुन सके, उनले ११ रन बनाए। अष्ट्रेलियाका बलर जोस हेजलवुडले ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअप ध्वस्त पारे। प्याट कमिन्स, मिचेल स्टार्क, र मिचेल मार्सले समान २/२ विकेट लिए।
भारतका कप्तान जसप्रित बुमराहले टस जितेर पहिले ब्याटिङ रोजे तर टोलीले कमजोर सुरुवात गर्यो। ७५ रन जोड्दा भारतले ६ विकेट गुमाइसकेको थियो। यो टेस्टमा नितिशकुमार रेड्डी र हर्षित राणाले भारतका लागि डेब्यू गरे भने अष्ट्रेलियाबाट नाथन म्याकस्विनीले पहिलो टेस्ट खेले।
भारत हाल दबाबमा छ। यसअघि न्युजिल्यान्डसँगको तीन टेस्ट खेलको शृङ्खलामा भारत ३-० ले पराजित भएको थियो, जुन सन् २००० यता भारतको घरेलु मैदानमा पहिलो ह्वाइटवास हो।
यो शृङ्खलाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने टोलीको भविष्य निर्धारण गर्नेछ। अष्ट्रेलियाले फाइनलमा पुग्न बाँकी सात खेलमध्ये पाँच जित्नुपर्नेछ। भारतले भने फाइनलमा स्थान सुरक्षित गर्न अहिलेको शृङ्खला ४-० ले जित्नुपर्नेछ। शृङ्खलाका अन्य खेलहरू क्रमशः डिसेम्बर ६, डिसेम्बर १४, डिसेम्बर २६, र जनवरी ३ मा सुरु हुनेछन्।