मध्यतराईको पर्सा बाराका किसान रातीको समयमा सकृय हुने किराको प्रकोपबाट पीडित भएका छन् । पाकेको धानको बाला रातीको समयमा काटी किराले नष्ट पार्न थालेपछि यहाँका किसान पीडित भएका हुन् ।
वीरगंज महानगरपालिका–२६, सुगौली बिर्ताका मोहन साह कानु ३० वर्षको उमेरदेखि कृषि पेशा गर्दै आइरहेका छन् । उनी अहिले ७५ वर्षका भए । तर उनले यस्तो समस्या पहिले नभएको तर्क गरे । २ बिगाहा खेतको धान अहिले काटेर नीन लगाएका उनी किराको आतंकबाट धान घर भित्र्याउन नपाइने डरले चिन्तित छन् । धानको नीन उठाउने समयमा धान असरल्ल देखेपछि चिन्ता बढेको उनको भनाइ छ । वर्षभरी खाने अन्नबली किराले काटेर नष्ट पारेपछि आधा बाली भित्र्याउन नसकिनेमा साहको गुनासो छ । वर्षभरी ८ जनाको परिवारलाई खान राखेर १५ क्विन्टल धान बिक्री गर्ने गरेको उनले विगत सम्झिए । यो वर्ष भने बिक्री गर्ने त कुरै छाडौं, खानलाई पनि पुग्छ कि पुग्दैन । विक्री नगरे कसरी बर्षभरीको अन्य खर्चको जोहो गर्ने उनले दुःखेसो गरे ।
बारागढी गाउँपालिका–१, पिपरा, बसतपुरमा पनि फौजी र सलह किराले बाली नष्ट गरेको स्थानीय हिरालाल साहले बताए । १ विगहा खेतमा धानबाली लगाएको थियो । धान काटेर पराई (नीन) राखेको धानको बाला सलह र फौजी किराले काटेर नष्ट पा¥यो । नकाटेको ठाडो धानको बोटमा पनि फौजी किराले बाला काटेर नष्ट गरेको छ । अधिल्लो वर्षको तुलनामा यो वर्ष फलेको धानको ५० प्रतिशत मात्र धान भित्र्याउन पनि पाइन्छ कि पाइदैन उनले पनि दुःखेसो गरे । अहिलेसम्म कहिले पनि धानको बाला काटेर नष्ट गर्ने किरा लागेको थाहा थिएन । बाली भित्र्याउने समयमा फलेका अन्न पनि आधा नै नोक्सान भएकोमा सबै किसानहरु चिन्तित भएको उनले बताए । हरेक पालिकामा कृषि प्राविधिक राख्ने प्रावधान छ । किसानहरु पालिकामा गएर जति गुनासो गरे पनि अहिलेसम्म किसानको समस्या बारे बुझ्न कुनै सरोकारवाला निकाय नआएको किसानको गुनासो छ । कृषि प्रधान देशमा सरकारले कृषिमा विशेष ध्यान दिनु पर्ने सो गरेको छैन किसानहरुले आक्रोस पोखे ।
हरेक जिल्लामा कृषि कार्यालयहरु छन् । कृषिमा काम गर्ने कर्मचारीहरु पनि छन् । तर किसानको खेतसम्म पुग्ने वातावरण भने बन्न सकेको छैन । किसानले विभिन्न समस्यासंग लड्दै घरमा भित्र्याउने अवस्थामा भएको पाकेको बालीलाई नष्ट पारीदिदाँ किसान चिन्तित हुन परेको साहले पनि दुःखेसो गरे । ६ महिनासम्म मेहनत गरेर राम्रो बोट आउँदा धेरै खुशी थिए । तर एक्कासी धान काट्ने बेलामा फौजी र सलह किराको प्रकोपले सताएको छ । तर पनि सरकारले यो समस्या समाधान गर्न कुनै किसिमको योजना नबनाएको र चासो समेत नदिएको किसानको भनाइ छ ।
साहु महाजनबाट पैसा लिएर खेती लगाएका किसानलाई झन बढि समस्या भएको एमाले मधेश प्रदेश सदस्य सलाउद्दिन अहमदले पनि बताए । खेती लगाएपछि अल्लाह, भगवानसंग समयमा पानी पारिदिनुस् भनेर गुहार मागी–मागी जसोतसो रोपेको धान किसानले घर भित्र्याउने समयमा यो अवस्था भएपछि किसान साह्रै मर्कामा परेको उनको तर्क छ । खेती योग्य जग्गाबाट फल दिन सुरु गर्छ । त्यो फल घरमा लान पाउदैन किसानले र उचित बजार व्यवस्थापन पाउदैन भने स्थानीय सरकारको पनि अर्थ के ? स्थानीय सरकार त प्रत्यक्ष किसानसँग जोडिएको सरकार हो नि । तर खोइ जनताको घरआँगनको सरकारको भूमिका निदाएर बसेको छ । यस्तो तरिकाले किसान झन समस्यामा परेका छन् उनले दावी गरे ।
रातभरी सकृय भएर धानको बाला काट्ने र दिनभरी सुत्ने किरालाई इयरहेड कटिङ पिलरका नामले स्थानीय कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले बताउन थालेका छन् । इयरहेड कटिङ पिलर एक प्रकारको लार्भा जस्तो देखिने उनीहरुको भनाइ छ ।
पर्सामा जिल्लाको धोबिनी गाउँपालिका, छिपहरमाई, पकाहा मैनपुर, कालिकामाई, जगरनाथपुरको सम्पूर्ण धान खेत, सखुवा पर्सौनीको बझियान भाग र वीरगंज महानगरपालिकाको कतिपय क्षेत्रमा किराहरु देखा परेका छन् । पहिला चराचुरुङ्गीहरु किराहरु खोतलेर खान्थे । जंगलमा भएका किरा चराचुरुङ्गीहरुले खाए । तर अहिले यहाँ भएका किराहरु चराचुरुङ्गीले खान पाएनन् । विभिन्न विषादीको प्रयोगले नयाँ जातिका किराहरु उत्पन्न भएका छन् । पालिकाको कृषि शाखाहरुले किसानका समस्याहरुलाई अध्ययन गर्नुपर्छ । किसानको दुःखमा पालिका, कृषि विज्ञहरु नपुग्नु दुर्भाग्य भएको अहमतको गुनासो छ ।
किसानहरुको व्यापक गुनासो आएपछि कृषि ज्ञान केन्द्र पर्साको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको केन्द्रका प्रमुख कमलदेव कुशवाहले बताए । किराले नोक्सान गरेकोे धानमा विषाधी छरे पनि खासै उपलब्धी नहुने प्रमुख कुशवाहले बताए ।
मधेश प्रदेश सरकारले अनुसन्धानका लागि विज्ञको टोली पठाउने भएको छ । कृषि मन्त्रालयले विज्ञहरूको टोली खटाउन लागेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेव प्रसाद कुशवाहाले बताए । यता मधेश प्रदेश सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले आफूले खबर पाउना साथ अनुसन्धानका लागि नार्क र कृषि ज्ञान केन्द्रका विज्ञ टोली पठाई वास्तविक अनुसन्धान गर्न खटाइ सकेको बताएका छन् । चाँडै यो समस्याको समाधान निकालिने उनको भनाइ छ ।