विश्वको आधा आकाश ढाक्ने महिला र ती महिलाहरुको बारेमा बोलिने अथवा लेखिने शब्दका आफ्ना आफ्नै व्याख्या होलान् । तर समग्रमा महिला सशक्तिकरण पितृसत्तात्मक मान्यताले प्रतिपादन गरेको एक अवधारणा हो भन्दा अन्यथा नहोला । हामीले जसरी बुझौं । किनभने पुरुषलाई सामाजिक संरचनाले अख्तियार र शक्ति दुवै दिएको छ । पितृसत्तात्मक अवधारणाले पुरुष कमजोर हुन्छन् भन्ने मान्यता नै राख्दैन यो सत्य हो । सामाजिक संस्था, पद, मूल्य, मान्यता यसैको आधारमा निर्माण भएका छन् । हरेक संरचना जसबाट हरेक पुरुष लाभान्वित हुन्छन् । भन्ने विश्वास मात्रै होइन व्यवहारिकता पनि उस्तै छ । तपाईं हाम्रो घर परिवार भित्रकै एउटा सानो अंशलाई नियालौ ।
घर परिवार र हाम्रो समाजको मूल्य र मान्यता हेर्दा कहिलेकाँही त महिला सशक्तिकरण शब्द आफैंमा पूर्वाग्राही लाग्छ । किन भने पूर्वीया अमानवीय सोचको विकसित सोच जसले महिलाहरू अशक्त मात्रै होइन । अत्यन्तै कमजोर छन् भन्ने मान्यता सँगसँगै बोकेर हिडेको छ । त्यहीँ समाजका नागरिक हामी महिला पनि हो मा हो को कााध जोडेकै छौ । जस्को कारण महिला सशक्तिकरणलाई पुरुषको अवस्था र हैसियतसँग तुलना गरेर परिभाषित गरिन्छ । त्यसकारण पनि महिला सशक्तिकरणको परम्परागत अवधारणाले महिलाभित्रका सम्भावना उजागर गर्नेभन्दा महिलालाई पुरुषसरह बनाउनेमा बढी जोड दिएको देखिन्छ ।
समग्रमा महिलाका अधिकार र आवश्यकता पुरुषबाट वा पुरुष केन्द्रित मानसिकताबाट परिभाषित भएका छन् । यसको प्रतिविम्ब भाषा, मूल्य, मान्यता, संरचना हरेक कुरामा झल्किन्छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक बर्ष मनाइने १६ दिने अभियानले महिलामाथी हुने गरेका हिंसा न्यूनीकरणमा कत्तिको सचेतता हुने गरेको छ । या त १६ दिने अभियान केवल अभियानमै सिमित छ । यो महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पु¥याउँछ । यस्को मापन भने आवाश्यक छ । हामीलाई थाहा छ समाजका हरेक क्षेत्रमा महिला र पुरुषका लागि मापदण्ड फरक छन् । नेपालको संविधानले यौनिक अल्पसंख्यकलाई अन्यको पहिचान दिएको छ । विद्यमान प्रणालीले महिला र यौनिक अल्पसंख्यकलाई दोश्रो र अन्य दर्जाको मानव मान्छ । यही प्रणालीमा रहेर आफ्नो सामाजिक तथा राजनैतिक हैसियत बनाउन बाध्य छन् ।
लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महसूश महिलाले धेरै पछि मात्रै गर्न सक्नु पनि सचेतना नै हो ।
हिजो आज हिंसाको स्वरूपमा विविधता देखिन्छ । जसलाई व्यक्ति तथा राज्यहरूद्वारा गरिएको हिंसामा विभक्त गरी हेरियो भने अलि सहज हुन्छ । व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजन्नमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि भनेर बुझ्ने गरिएको छ । तर जति समय परिवर्तन हुँदै जान्छ । हिंसाका पनि परिवर्तन रुप देख्न सकिन्छ । झट्ट हेर्दा सामान्य देखिने सम्बन्ध भित्र हिंसाको चरम लुकेको हुन्छ । शारिरीक हिंसाले भन्दा मानसिक हिंसाले अहिलेको समाज ग्रसित छ । आफ्नै परिवार र आफन्तले गरेको हिंसाले सवै भन्दा बढी पिढा दिने गरेको हुन्छ ।
विश्वको कुनै क्षेत्र, देश र त्यस्तो कुनै संस्कृति छैन । जहाँ हिंसाबाट महिलाको स्वतन्त्रता सुरक्षित गरिएको होस् । फरक छ त केवल महिला हिंसाको स्वरूप अनि नाम, लैङ्गिक विभेदमा आधारित हिंसा एउटा त्यस्तो महामारी हो ।
नेपालमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकधाम र प्रतिकार्य सेवाको प्रावधानका लागि धेरै नीति तथा कानूनहरु र कार्यक्रमहरुका साथै प्रगतिका उत्साहजनक सङ्केतहरु छन् । तथापि यी संकटलाई अन्त्य गर्न अझै धेरै कार्यहरु गर्न आवश्यक छ । महिला र किशोरीलाई भन्दा पुरुष र किशोरलाई महत्व दिने र परम्परादेखि चलिआएका भेदभावपूर्ण अभ्यासहरुका साथै महिला तथा किशोरीहरु विरुद्धको हिंसा रहेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका प्रत्येक ५ जना महिला मध्ये १ जनाने शारीरिक हिंसा अनुभव गरेको पाइएको छ । ४ जना विवाहित महिलामध्ये कम्तिमा १ जनाले श्रीमान्बाट आफ्नो जीवन अवधिमा शारीरिक, यौनिक वा भावनात्मक हिंसाको अनुभव भोग्ने गरेका छन् ।
अन्त्यमा, सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुन्छ । ’लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन । हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको छ । सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले मनाउने १६ दिने अभियानले सार्थकता पाउने छ ।