बच्चाहरुलाई धेरै सताउने समस्याका रुपमा कान पाक्ने समस्या एक हो । कान पाक्ने समस्या बालबालिकामा बढी देखिन्छ । यस्तो हुनुको कारण भने बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने गर्नाले हो । बालबालिकामा नाक बन्द हुँदा, नाक भित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा र रुघाखोकी तथा पिनास हुँदा पनि कान पाक्ने गरेको चिकित्सकहरुको भनाइ छ । स्तनपान गरिरहेका बच्चा वा नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउ छन् । त्यो दुध सर्किदा वा उल्टी गर्दा बच्चाको कानमा दुध पर्याे भने पनि कान पाक्ने गरेको बालरोग बिशेषज्ञ समेत रहेका डा. अशोक दासले पनि बताए । कानको मध्य भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुखाईको कारण ज्वरो समेत आउने गर्छ । मध्य कानको काम शारीरिक सन्तुलन ठिक राख्ने हुनाले कान पाक्ने समस्या हुँदा शारीरिक असन्तुलन हुने तथा रिङ्गटा लाग्ने पनि हुन्छ । कान पाक्ने समस्यालाई हामीले हल्का रुपमा लिएको पनि हुन सक्छ । तर बालबालिकाको समग्र विकासमा यसले असर पारिरहेको हुन्छ । यसबाट घातक परिणाम पनि आउन सक्छ । कानको जाली फुटेर पिप बाहिर निस्क्यो भने दुखाइ अलि कम हुन्छ । त्यस्तो हुँदा विस्तारै भित्री कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई असर गर्न सक्छ बाल रोग विशेषज्ञ डा दासले तर्क गरे । कान पाक्ने समस्या लामो समयसम्म रहन सक्छ । कानको बाहिरी भागमा पनि संक्रमण हुने हुन्छ । यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा हुन्छ भने कानको बाह्य भागमा रातो हुने, सानो खटिरा आउन सक्छ । कान पाक्ने समस्या गराउने किटाणुहरु एच इन्फुएन्जा, न्युमोकोकस, स्टाफाइलोकोकस अरियस आदि हुन् । कान पाक्ने समस्याबाट प्रभावित हुनसक्ने बालबालिकालाई नुहाइदिँदा कानमा कपास राखिदिने गर्नुपर्छ । रुघाखोकी वा श्वास प्रणालीको संक्रमण हुँदा तुरुन्तै उपचार गराउनुपर्छ । कान चिलायो भनेर कहिल्यै पनि प्वाँख, सिन्का, कानकुट्टीले कान कोट्याउनु नहुने कुरा डा. दासको छ । बालबालिकाको कान पाक्ने समस्या र समाधानको उपायको बारेमा आशाराम अस्पतालका संचालक समेत रहेका बालरोग विशेषज्ञ डा. दास संग गरिएको बिशेष कुराकानी :-
१) बालवालिकामा कान पाक्नुको कारण के हो ?
कान पाक्ने समस्या गाउँ घरमा बढी हुन्छ । यसको प्रमुख कारण भनेको कान सफा गर्नु पर्ने ठाउँमा हामी तेल ईयर ड्रप जस्ता तरल पदार्थ हाल्छौ । कान एक मुखे बाटो हो । जस्ले गर्दा कान पाक्ने समस्या हुन्छ । अर्को भनेको बच्चालाई सुताएर स्तनपान गराउँदा कानमा दुध पर्छ । दुध एउटा किरा पर्ने माध्यम हो । दुधमा केही प¥यो भने तुरुन्तै किरा पर्छ । त्यस्तै तेल हाल्दा कान बाहिर भएका फोहरहरु पनि तेल संगै भित्र जान्छ । ति सबै कानको पर्दामा गएर बस्छन् । यस्ता पदार्थहरु कान भित्र पर्दा वा हाल्दा नै कानमा संक्रमण हुने हो ।
२) कान पाक्ने लक्षणहरु के के हुन् ?
काना पाक्दाको लक्षणहरु भनेको सबैभन्दा पहिला कान सुनिने, कान दुख्ने, कानको अघिल्लो भाग रातो हुन्छ र अन्तिममा घाउ भएर कानको पर्दा च्यातिन्छ र पिप बग्न सुरु हुन्छ ।
३) कान सफा गर्न प्रयोग गरिने ईयर बर्ड कत्तिको उपयुक्त हो ?
इयर बर्ड ठूलो व्यक्तिको कानको अकार अनुशार बनाईएको हुन्छ । यदि यसले बच्चाको कान सफा गर्ने हो । भने उनीहरुको कान बाहिर भएको फोहोरलाई अझ भित्र लैजाने काम गर्छ । हामी कहाँ बच्चाको लागि ईयर बर्ड बनेको छैन । तर त्यसको लागि सलाईको पछाडि पट्टीको भागलाई पातलो बनाए र वा कुनै पातलो सिन्कामा कपास बेरेर त्यसलाई पानी वा अरु कुनै कानमा असर नगर्ने तरल पदार्थले भिजाएर सफागर्न सकिन्छ ।
४) कानको सरसफाईमा कसरी ध्यान दिने ?
घाउ भएपछि उपचार गर्नुभन्दा घाउँ हुन नदिनु नै सबै भन्दा राम्रो हो । जनावरहरुमा कहिल्यै कान पाक्दैन । त्यसको कारण भनेको उनीहरु सुतेर स्तनपान गर्दैनन् र कानमा तेल हाल्दैनन् । हामीले नुहाउँदा कहिलेकाही कानमा पानी पसेको जस्तो हुन्छ तर केही समय पछि त्यो आफै झर्छ किनकी त्यो पानी भित्र गएको हुँदैन । हाम्रो कानको वनोट नै यस्तो छ कि त्यसमा हत्तपत्त केही जादैन । त्यसैले बाल्यावस्था होस् वा वयस्क कानमा तेल लगायतका तरल पदार्थहरु हाल्नु हुदैन ।
५) कान सफा राख्ने घरेलु उपायहरु पनि छन् कि ?
यसको घरेलु उपचार भनेको नै ५ दिन वा एक हप्तामा कानको सफई गरिरहनु पर्छ । कान पाक्यो भनेर तेल अथवा सिउडीको रस कानमा हाल्नु भने को आफै बोकी हुनु र आफै झक्रि बन्नु जस्तै हो । कान पाकि सकेपछि सिउडिको रस वा तेल हालेर केही हुँदैन् । त्यसले केही समयलाइ आराम दिए पनि कानको जालीलाई नै प्वाल पार्ने गरि असर गर्छ । यदी कान पाकेको छ भने कानको डाक्टरको सल्लाह अनुसार ड्रपहरु प्रयोग गर्नु पर्छ ।
६) प्रत्येक कति कति समयमा कानको हेरचाह र डा. कहाँ चेक जाँच गराउनु् पर्छ ?
हाम्रो शरीर, आँखा, दात जस्तै कानको रेगुलर चेकअप गर्नु पर्छ भने त्यस्तो कुनै स्किम छैन । सामान्य रुपमा घरमै गरिने सरसफाईबाट नै यसको चेकअप भईरहेकै हुन्छ । कानको लागि मात्रै कुनै विषेश समय वा जाँच भन्ने हुदैन ।
७) अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
कान हाम्रो सम्वेदनशिल अंग हो । हामीले यसको राम्रो हेरचाह गर्नु पर्छ । त्यसैले म हरेकलाई बच्चालाई सुताएर स्तनपान नगाराउनु र कानमा तेल लगायतको तरल पदार्थ नहाल्नु भन्न चाहन्छु । यी सबै कारणले नै कान पाक्ने समस्याहरु निम्त्याउछ । हाम्रो शरीरको कान र अनुहारमा आएको घाउहरु निकै सम्वेदनशिल हुन्छन् । अनुहारको नशाको प्रत्यक्ष सम्पर्क टाउको संग हुने भएकाले हामीले कान तथा अनुहारमा आएका घाउहरुलाई चलाउनुभन्दा पहिले सोच विचार गरेर मात्रै चलाउनु पर्छ ।