बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको हो।
गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका-३, बतरामा हरिभुषणमाथि गोली प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई वीरगन्जको बयोधा अस्पतालमा पुर्याइयो। उपचारकै क्रममा उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको थियो।
हत्या प्रकरणमा १७ जनाको संलग्नता पुष्टि
अनुसन्धानका क्रममा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलासा भएको छ। हालसम्म चन्द्रमणि कुशवाहा, चाँदशी कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, र मोतीलाल चौधरी पक्राउ परेका छन्। उनीहरूमध्ये दुईजना धरौटीमा छुटेका छन् भने आठजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
हत्या प्रकरणमा जग्गा विवादको कारण
प्रारम्भिक अनुसन्धान अनुसार, जग्गासम्बन्धी विवादका कारण सुरेन्द्रले हरिभुषणमाथि गोली प्रहार गरेको खुलेको छ। घटनामा प्रयोग भएको दुईवटा पेस्तोल, सात राउण्ड गोली, चारवटा मोटरसाइकल, चारवटा मोबाइल, दुईवटा ल्यापटप र सातवटा सिम कार्ड प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजना मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी होम बहादुर सापकोटाले जानकारी दिए।