युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यले "ई प्लानेट नेसनल हाई स्कुल टी-टेन क्रिकेट च्याम्पियनसिप" आयोजना हुने भएको छ। हाइपएती इभेन्ट्स र ई प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा माघ ९ देखि १२ गतेसम्म प्रतियोगिता हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
प्रतियोगितामा सहभागी कलेजहरूलाई देशभर सातै प्रदेशमा छनोट प्रतियोगिता मार्फत चयन गरिनेछ। ईटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी, र काठमाडौंमा प्रदेश स्तरीय छनोट हुनेछ। आयोजकको टिमसहित आठ टोलीले मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नकआउट आधारमा आयोजना हुने यो प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूले मात्र सहभागीता जनाउन पाउनेछन्। कुल ५७ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्देश्य प्रतिभावान् खेलाडीलाई राष्ट्रिय स्तरमा अघि बढाउन सहजीकरण गर्नु हो।
पुरस्कार र प्रोत्साहन
प्रदेश विजेताले ५०,००० रुपैयाँ जित्नेछ। राष्ट्रिय स्तरको विजेताले १,००,००० रुपैयाँ तथा उपविजेताले ५०,००० रुपैयाँ पुरस्कार पाउनेछ। उत्कृष्ट खेलाडी र विधागत विजेताले पनि नगद १०,००० रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
ई प्लानेटका कार्यकारी चेयरम्यान नयन लामिछानेले यो प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभावान् खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरेका छन्।