राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ। प्रणालीमाथि जोखिम हुने गरी साइबर आक्रमण भएपछि ठेक्कासम्बन्धी निर्णयमा ढिलाइ नगरी नयाँ टेन्डर प्रक्रियामा अघि बढाइएको हो। बिहीबार विभागले बोलपत्र आह्वान गर्दै छपाइसम्बन्धी कामलाई दुई प्याकेजमा विभाजन गरेको छ।
पहिलो प्याकेजमा विद्युतीय राहदानी प्रणालीको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा व्यवस्थापन, र डेलिभरी सिस्टमको जिम्मेवारी समावेश गरिएको छ। दोस्रो प्याकेजमा राहदानी बुकलेटको पर्सनलाइजेसन, गुणस्तर नियन्त्रण, र प्याकिङ कार्यको जिम्मा राखिएको छ। विभागले १२ जनवरी २०२५ सम्म इच्छुक कम्पनीहरूलाई आवेदन दिन म्याद प्रदान गरेको छ।
विभागले हाल फ्रान्सको आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी सँगको सम्झौतामा आधारित रहेर राहदानी छपाइ गर्दै आएको छ। सन् २०२० मा दुई अर्ब ४८ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएकोमा २० लाख पासपोर्ट छपाइपछि थप २८ लाख पासपोर्ट छपाइका लागि ठेक्का भेरिएसन गरिएको थियो।
हाल विभागसँग करिब १३ लाख पासपोर्ट मौज्दातमा रहेको छ, जसले बढीमा एक वर्ष धान्न सक्ने विभागले जनाएको छ। मासिक औसत एक लाख राहदानी वितरण भइरहेकाले नयाँ टेन्डर प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।
गत बुधबार साइबर आक्रमणका कारण पाँच दिनसम्म सेवा अवरुद्ध हुँदा जिल्लास्तरका कार्यालयहरू र विदेशस्थित नियोगहरूको सेवा ठप्प भएको थियो। विभागले साइबर आक्रमण र प्रणालीमाथिको जोखिमलाई ध्यानमा राख्दै भेरिएसन प्रक्रियाबाट प्रणाली थप कमजोर हुने ठहर गरी नयाँ टेन्डर प्रक्रियामा गएको हो।
विभागका महानिर्देशक तीर्थराज अर्यालले नयाँ ठेक्का प्रक्रिया शीघ्र पूरा गर्न सकिने र पासपोर्ट सेवालाई जनताको सुविधाका लागि प्रभावकारी बनाउन सबैले ध्यान दिनुपर्ने बताए। उनका अनुसार, पासपोर्ट छपाइ सम्बन्धी टेन्डर प्रक्रिया स्पष्ट रूपमा तय गरिएको छ।