सेवाग्राहीलाई हैरानी दिँदै अनधिकृत काममा संलग्न १८ जना विचौलियालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बिरगञ्जको बसपार्क क्षेत्र र यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिँदै छिटो काम गरिदिने बहानामा प्रलोभनमा पारेर अतिरिक्त शुल्क असुली गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने र यातायात कार्यालयमा गैरकानूनी ढंगले काम गरिदिने गिरोहलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले सूचनाको आधारमा अनुगमन गर्दा उनीहरूलाई रंगेहात पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेमा पर्साका १५ जना, भारत मोतिहारीका एक जना, रौतहटका एक जना, र गोरखा जिल्लाका एक जना रहेका छन्। पक्राउ परेका व्यक्तिहरूमा बिरगञ्ज–८ का विजय साह, वडा नम्बर १० का बजंरगी महतो र राहुल महतो, भारत मोतिहारीका जटाशंकर कुमार, रौतहटका नरेश साह सोनार, र गोरखाका सुशान्त कुँवरसमेत रहेका छन्।
यस्तै, बिरगञ्जका प्रभु पटेल, सन्देश सिंह, बिकास पटेल, जयपुजन ठाकुर, मनिष महतो, चन्दन कुमार चौरसिया, सन्तोष महतो, इद मियाँ धोबी, र सुरज भगत माली पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।