आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आजदेखि मौन अवधि सुरु भएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टाअघि र मतगणना सम्पन्न नभएसम्म उम्मेदवार वा पार्टीको पक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार निषेध गरिएको छ। निर्वाचनलाई निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगले यो नियम लागू गरेको हो।
मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा हुने कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, गोष्ठी, वा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न पाइने छैन। एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पनि प्रतिबन्ध गरिएको छ। सञ्चारमाध्यमले पनि जित–हारको पूर्वानुमानसहितका सामग्री सार्वजनिक गर्न नपाउने आयोगले जनाएको छ।
यदि यस्तो गतिविधि भएको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, र अन्य निकायले अनुगमन गरी कारबाही गर्ने व्यवस्था गरिएको छ। निर्वाचन कसुर तथा सजाय ऐन, २०७३, र निर्वाचन आचारसंहिता, २०७९ अनुसार उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिनेछ।
यस पटकको उपनिर्वाचन ३३ जिल्लाका ४४ पदका लागि हुँदैछ। यसमा २ जिल्ला समन्वय समिति प्रमुख, १/१ मेयर र उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुने छ। १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ।
कुल २ लाख २६ हजार ७९९ मतदातामध्ये पुरुष मतदाता १ लाख १४ हजार ९००, महिला १ लाख ११ हजार ८९६, र अन्य ३ जना रहेका छन्। तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मात्रै मतदान हुनेछ।
यस निर्वाचनमा कांग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) रुकुमपूर्वका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।