नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि तयार पारिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यसलाई निरन्तरता दिएको छ। साउनमा जारी मौद्रिक नीतिको कार्यदिशालाई कायम राख्दै मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्वसहित आर्थिक क्रियाकलाप विस्तारमा योगदान गर्ने लक्ष्य राखिएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको नीतिगत दरलाई ५ प्रतिशतमा स्थिर राखेको छ। ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमा (निक्षेप संकलन दर) ३ प्रतिशत र माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशत यथावत राखिएको छ। अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातमा पनि कुनै परिवर्तन गरिएको छैन।
राष्ट्र बैंकले हालको मुद्रास्फीति लक्षित सीमाभित्र रहेको बताउँदै बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ। केन्द्रीय बैंकका अनुसार, गैरखाद्य वस्तुको मुद्रास्फीतिमा खासै चाप नरहेकाले समग्र मूल्यवृद्धि नियन्त्रणमा रहेको छ।
समीक्षामा भारत र अन्तर्राष्ट्रिय बजारको असर पनि उल्लेख गरिएको छ। भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको, रुस–युक्रेन युद्धले आपूर्ति श्रृंखलामा व्यवधान कायमै रहेकाले उपभोक्ता मूल्यमा जोखिम कायम रहेको औंल्याइएको छ। तर, पेट्रोलियम पदार्थको स्थिर मूल्यले गैरखाद्य वस्तुहरूको मूल्यमा चाप पर्ने सम्भावना न्यून रहेको छ।
राष्ट्र बैंकले आर्थिक वृद्धिको लक्ष्य हासिल हुने आधारहरूसमेत देखाएको छ। पर्यटक आगमनमा वृद्धि, पर्यटन पूर्वाधारहरूको उपयोग, सूचना प्रविधिको विस्तार, जलविद्युत् आयोजनाको प्रगति, र पुनर्निर्माण गतिविधिले समग्र मागमा विस्तार हुने अनुमान गरिएको छ।
असोजमा आएको बाढी र पहिरोले ४६ अर्ब रूपैयाँ बराबरको क्षति पुर्याएको तथ्यलाई स्मरण गर्दै पुनर्निर्माण र मर्मत कार्यले सार्वजनिक वित्त व्यवस्थापनमा चाप पार्ने अनुमान गरिएको छ।