वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीहरु व्यक्तिगत पूर्वाग्रहका आधारमा सरुवा गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ, ठाकुरराम इकाइका सदस्यहरुले क्याम्पस प्रशासनमाथि आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।
कर्मचारी संघका ठाकुरराम इकाइ अध्यक्ष किशोरी चौधरीका अनुसार, क्याम्पस प्रशासनले योग्य कर्मचारीलाई सरुवा नगरेर केवल व्यक्तिगत रिसका कारण एकै कर्मचारीलाई पटक-पटक विभिन्न शाखामा स्थानान्तरण गर्दै अन्याय गरेको बताएका छन्। उनीहरुले बुधन मुखिया नामक कर्मचारीको बारम्बार सरुवा भइरहेकोलाई विरोध गरेका छन्। पछिल्लो पटक बुधन मुखियाको सरुवा ठाकुरराम बहुमुखी क्याम्पसबाट सिराहा क्याम्पसमा गरिएको छ, जसको विरोधमा आन्दोलन सुरु गरिएको हो।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले क्याम्पस प्रमुख, लेखा, प्रशासन, आईटी, स्टोर र परीक्षा शाखालगायतका कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले सरुवा प्रक्रिया र निर्णयमा निष्पक्षता नभएको आरोप लगाएका छन्।
कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष विजय कुश्वाहाका अनुसार, ठाकुरराम क्याम्पसमा कर्मचारीको अभाव हुँदा सिराहा क्याम्पसमा बुधन मुखियाको सरुवा गर्नु उपयुक्त नभएको बताएका छन्। कुश्वाहाले तत्काल सरुवा फिर्ता गर्ने र आन्दोलन जारी राख्ने बताउँदै छन्।
यस विषयमा क्याम्पस प्रमुख रञ्जीत यादवलाई सम्पर्क गर्दा उनका मोबाइलमा आगमन कल रोकिएको थियो। कर्मचारीहरुले सरुवा प्रक्रिया पुनरावलोकन गर्न र अन्यायपूर्ण निर्णय सच्याउन प्रशासनलाई चेतावनी दिएका छन्।