बहुदरमाई नगरपालिकामा पछिल्लो समय जनप्रतिनिधिहरूको आपसी विवाद र प्रशासनिक बेथितिका कारण उत्पन्न समस्याहरूको समाधानको लागि सचेत नागरिक समाजले आज नगरपालिकामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ। राकेश यादवका अनुसार, नगरपालिकाको कार्यालय अगाडि बिहान १० बजेबाट सुरु हुने यस धर्नामा विभिन्न ७ बुँदे मागहरू अघि राखिएका छन्।
नगरपालिकामा पछिल्लो ६ महिनादेखि नगरपरिषद्का निर्णयहरूमा ढिलाइ भइरहेको र जनप्रतिनिधिहरूबीचको विवादले गर्दा नगरपालिका सेवाहरूमा ठूलो अवरोध आएको बताइन्छ। शिक्षा, स्वास्थ्य, कर्मचारी सेवा, र वडास्तरीय सेवाहरू प्रभावित भएको भन्दै सर्वसाधारण, शिक्षक, र कर्मचारीले मर्का खेपिरहेका छन्।
नागरिक समाजले प्रस्तुत गरेको ७ बुँदे मागमध्ये प्रमुख मागहरूमा कर्मचारीहरूको तलब तुरुन्त भुक्तानी, किसानको लागि आवश्यक मलखाद र बीउको व्यवस्था, विद्यार्थीहरूको दिवा खाजा कार्यक्रम पुनः सुरु, र स्वास्थ्य संस्थामा आवश्यक औषधिको आपूर्ति समावेश छन्। यसका साथै, नगरपालिका प्रशासनले पारित बजेटहरूको संशोधन र सामाजिक सुरक्षा भत्ता वितरणमा सुधार ल्याउने पनि माग गरिएको छ।
नागरिक समाजले स्पष्ट चेतावनी दिएको छ कि यदि यी मागहरूको तत्काल सुनुवाइ नगरेमा थप संघर्षका कार्यक्रमहरू घोषणा गरिनेछन्। नगरपालिका प्रशासनले यस विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको र समाधान प्रक्रिया अघि नबढेको देखिएको छ।