स्थानीय तहका विभिन्न ४१ पदका लागि भइरहेको उपनिर्वाचनमा दिउँसो १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रूपमा जारी छ। कतिपय स्थानमा मतदान सकिएपछि तुरुन्तै मतगणना सुरु गर्ने तयारी रहेको आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले बताइन्।
उपनिर्वाचनमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, र वडाध्यक्ष गरी ४१ पदका लागि निर्वाचन भइरहेको छ। यस क्रममा ताप्लेजुङ, झापा, तेह्रथुम, सुनसरी, धनुषा, रौतहट, काठमाडौं, नुवाकोट, गोरखा, कपिलवस्तु, रोल्पा, दैलेख, जाजरकोट, डोल्पा, बझाङ, डोटी लगायतका जिल्लाहरूमा मतदान जारी छ।
निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसअघि ओखलढुंगाको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका टेकराज भट्टराई, कैलालीमा टीकाकुमारी चौधरी (भूल), र रुकुम (पूर्व) को उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आयोगले मतगणना छिटो सम्पन्न गर्न तयारी भइरहेको जनाएको छ।