जवाफदेहिताका लागि नागरिक अभियानले बालविवाह न्यूनीकरणका लागि पहल गर्न पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई आज ज्ञापनपत्र बुझाएको छ। अभियानले बालविवाहले बालबालिका र किशोर-किशोरीहरूको स्वास्थ्य तथा भविष्यमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै कानूनी व्यवस्था भए पनि यसको व्यवहारिक कार्यान्वयन नहुनु चिन्ताजनक भएको जनाएको छ।
अभियानका अध्यक्ष पत्रकार साजिर मन्सुरका अनुसार, पर्साका केही पालिकाहरूले बालविवाह गराउने परिवारलाई कार्यालयका सेवा-सुविधा प्रदान नगर्ने घोषणाका साथ यो कुरीति रोक्न प्रयास गरे पनि धेरैजसो जनप्रतिनिधिहरू नै त्यस्ता विवाहमा सहभागी हुने हुँदा समस्या कायम रहेको छ। पर्साका १४ वटै पालिकाका जनप्रतिनिधिहरूसँग यसबारे पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको छ।
महिला, युवा, र सीमान्तकृत समुदायको सशक्तिकरणमा ध्यान
यूएसएआईडी, सीएसएम, र द एसिया फाउन्डेशनको सहयोगमा सञ्चालित ‘मिडिया फेलोसिप मार्फत महिला, युवा, र सीमान्तकृत समुदायको सशक्तिकरण’ कार्यक्रमले महिला, अपांगमैत्री कार्यालयहरू, युवा, र सीमान्तकृत समुदायका अधिकारका लागि वकालत गर्दै आएको छ। यस अभियानमा मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार, सामाजिक अभियन्ता, नागरिक अगुवा, र अधिकारकर्मीहरूको सहभागिता छ।
कार्यक्रम संयोजक सल्मा खातुनले अभियानले महिला तथा अपांगमैत्री सरकारी सेवा सुनिश्चित गर्दै बालविवाह न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिइन्। कार्यक्रमका क्रममा पर्सा र बाराका पत्रकार, समाजसेवी, प्राध्यापक, र अधिकारकर्मीको उपस्थिति रहेको थियो।