चीनले नेपाललाई विभिन्न विकास परियोजनाको लागि ५ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माका अनुसार, यस सम्झौताअन्तर्गत चीनको सहयोगमा नेपालले पहिचान गरेका परियोजनाहरू सञ्चालन हुनेछन्। यसअघि सन् २०१७ मा पनि चीनले उच्च पहाडी र हिमाली क्षेत्रका परियोजनाहरूमा यस्तै सहयोग प्रदान गरेको थियो।
अन्य सहयोगहरू
नेपाललाई बजेटरी सहयोगका लागि नगद अनुदानसम्बन्धी सम्झौता पनि भएको छ। यसअन्तर्गत प्राप्त हुने रकम नेपाल सरकारको कोषमा राखी आवश्यकता अनुसार खर्च गर्न पाइनेछ।
यसबाहेक, सन् २०२४ देखि २०२९ सम्मका विभिन्न विकास योजनामा सहयोगको लागि दुई देशबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। यद्यपि, यसअन्तर्गत कति रकम प्राप्त हुनेछ भन्ने विवरण खुलाइएको छैन।
टोखा–छहरे सुरुङमार्ग
चीनले लामो समयदेखि प्रतिबद्धता जनाएको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने भएको छ। यससम्बन्धी समझदारीपत्र नेपाल र चीनबीच हस्ताक्षर भएको छ।
असोज २०७६ मा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति जनाएका थिए। यद्यपि, परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) नेपाल सरकारले गर्नुपर्नेछ।
व्यापार प्रवद्र्धन
नेपाल र चीनबीच व्यापार प्रवद्र्धनसम्बन्धी पनि समझदारी भएको छ। वाणिज्य मन्त्रालयका अनुसार पारस्परिक व्यापार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। स्वतन्त्र व्यापार सम्झौताबारे भने यस भ्रमणका क्रममा कुनै एजेन्डा अघि सारिएको थिएन।