नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।
कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरको तेस्रो बलमा पूरा गर्यो।
काठमाडौंका लागि करण केसीले १० बलमा २८ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्याए। उनले २ चौका र २ छक्कासहित विस्फोटक ब्याटिङ गरेका थिए। तर, उनी १९औं ओभरको अन्तिम बलमा सोमपाल कामीको बलमा देव खनालद्वारा बाउन्ड्रीमा क्याच आउट भए। अन्तिम ओभरमा ७ रन आवश्यक पर्दा सुमित महर्जनले पहिलो बलमै चौका प्रहार गर्दै दबाब घटाए। उनले ३७ बलमा ३ चौका र १ छक्कासहित नटआउट ४० रन बनाए, जुन काठमाडौंको जितका लागि निर्णायक साबित भयो।
गेराल्ड इरासमसले २८ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। उनलाई १६औं ओभरमा गुल्सन झाको बलमा सोमपालले क्याच आउट गरे। माइकल लेभिटले १९ बलमा २२ रन जोड्दा ओपनर शंकर राना ६ रनमा रनआउट भए। स्टेफन इस्कानाजीले ३ रन र भीम सार्कीले ९ रन बनाए।
कर्णालीका लागि बलिङमा सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपिन शर्माले १-१ विकेट लिए।
त्यसभन्दा अघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। कर्णालीका लागि भारतीय ब्याटर शिखर धवनले नटआउट ७२ रनको उत्कृष्ट इनिङ्स खेले। ५१ बलको सामना गर्दै उनले ४ चौका र ५ छक्का प्रहार गरे। धवनले जीशन मक्सुदसँग छैटौं विकेटका लागि अविजित ६५ रनको साझेदारी गरे। मक्सुदले ११ बलमा १४ रनको योगदान दिए।
कर्णालीका ओपनर देव खनाल पहिलो ओभरमै डकआउट भए। चाडविक वाल्डनले २१ रन बनाउँदा बाबर हायतले १३ रन र गुल्सन झाले १२ रन जोडे। अर्जुन घर्ती ४ रनमा आउट भए।
काठमाडौंका बलरहरू मध्ये गेराल्ड इरासमसले २ विकेट लिए भने कप्तान करण केसी, नाथन सोटर र दीपेश कँडेलले १-१ विकेट लिए।
यो जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो खाता खोलेको छ। दुवै टोलीले यसअघिका खेलमा पराजय व्यहोरेका थिए। कर्णालीलाई जनकपुरले हराएको थियो भने काठमाडौंलाई चितवनले पराजित गरेको थियो।