नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको चुनौती दिएको छ। विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको विशाल स्कोर खडा गर्यो।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले २९ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४६ रनको उत्कृष्ट इनिङ्स खेले। अन्तिमतिर विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन बनाएर टोलीको स्कोरलाई उचाइमा पुर्याए।
ओपनर आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए भने अर्जुन साउदले १९ बलमा ३ चौका प्रहार गर्दै १७ रनको योगदान दिए। चौथो ओभरमा निकोलास किर्टोनबाट रनआउट हुनुअघि घिरैयाले आक्रामक सुरुवात गरेका थिए। अर्जुन इस्मत आलमको बलमा बोल्ड भए।
टस मुर्सले १७ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३० रन जोडे। उनी १३औं ओभरमा रनआउट भए। सन्दीप जोराले १३ बलमा १२ रन बनाएका थिए तर उनी पनि रनआउटकै सिकार बने।
साद बिन जफरले १३ बलमा १५ रन बनाए। उनलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले मार्टिन गप्टिलबाट क्याच गराउँदै पेभिलियन फर्काए। बने कटिङ पनि १९औं ओभरमा ६ रन बनाएर रनआउट भए।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १-१ विकेट लिए। लुम्बिनीका चार खेलाडी रनआउट भएपछि विराटनगरले फिल्डिङमा केही राहत महसुस गरेको थियो।
यसअघि, विराटनगरले आफ्नो दुवै खेलमा पराजय बेहोरेको छ भने लुम्बिनीले प्रतियोगितामा पहिलो खेल खेलेको हो। अब विराटनगरले १९२ रनको लक्ष्य पूरा गर्न उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ।