भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्यसमिति पुनर्गठन गर्दै अनिता साहको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन गरिएको छ। समितिमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल, र अजय चौरसिया सदस्य रहेका छन्।
सल्लाहकार समितिमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, सदस्य गोपाल अश्क, वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार दिनेश गुप्ता, र वरिष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन्।
भोजपुरी प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं साहित्यकार उमाशंकर द्विवेदीको २०७९ चैत १७ गते निधन भएपछि निष्क्रिय बनेको प्रतिष्ठानलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको प्रयासमा पुनः सक्रिय बनाउन नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो।
मनोनयन पत्र वितरण कार्यक्रम
वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षतामा तथा महानगर प्रमुख सिंहको प्रमुख आतिथ्यमा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरूलाई बुधबार एक विशेष कार्यक्रमका बीच मनोनयन पत्र वितरण गरियो।
भाषा र संस्कृतिको संरक्षणमा जोड
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले भोजपुरी भाषा, संस्कृतिलाई उजागर गर्दै जनमानसमा पुर्याउन र यो भाषा–संस्कृतिको छुट्टै पहिचान बनाउन प्रतिष्ठानले ठूलो भूमिका खेल्ने बताए। उनले वीरगञ्जका विद्यालयहरूमा हप्तामा कम्तीमा एक दिन भोजपुरी भाषा, साहित्य र संस्कृतिका कक्षा सञ्चालन गर्ने योजना सुनाए। साथै, भोजपुरी भाषा र संस्कृतिलाई झल्काउने संग्रहालय स्थापना गर्ने लक्ष्य रहेको बताए।
उनले भोजपुरी भाषाको सम्मानजनक पहिचानका लागि यसको उन्नयन, संरक्षण र युवाहरूको आकर्षण बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका अध्यक्ष कर्णले स्थानीय भाषाको विकासमा स्थानीय बासिन्दाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै भोजपुरी भाषाको अध्ययन, साहित्य, रहनसहन, र संस्कृतिलाई प्राथमिकतामा राखेर पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी र पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए।