राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ। वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा आज बुधबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको हो।
सहकारीको ठगी प्रकरण
सानो पाइला सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन्। उक्त सहकारीले वीरगञ्ज उपमहानगरपालिकाका ८, १३, १४, १८ र १९ नम्बर वडाका करिब ८ सय बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ जम्मा गरेको थियो। तर सहकारीले ऐन विपरीत सदस्य नभएका व्यक्तिलाई ऋण दिएको र बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरेर अपचलन गरेको आरोप छ।
कर्जा प्रवाहका विवरण
जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड १ लाख कर्जा प्रवाह गरिएको छ। त्यस्तै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख र विमला पौडेलको नाममा २ करोड ७ लाख कर्जा प्रवाह गरिएको खुलासा भएको छ।
अन्य सहकारी ठगी र अनुसन्धान
लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ। अहिले लामिछाने चितवनमा बयान भइरहेको छ। उनलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएपछि कास्की, रुपन्देही र काठमाडौं हुँदै अहिले चितवन लगिएको हो।
सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो, पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ। यस बीचमा, लामिछानेले ऋण तिर्न भन्दै काटेका चेकहरू पनि बरामद भएका छन्।
पक्राउ पुर्जी जारी
पर्सा जिल्ला प्रहरी कार्यालयले १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र थप अनुसन्धान अघि बढाइएको छ।