जनकपुरधाममा आज सीताराम विवाह महोत्सवको मूल समारोह धुमधामका साथ मनाइँदै छ। विशेष पूजा र मन्दिर सरसफाइसँगै जानकी मन्दिरबाट माता सीताको डोला बाजागाजासहित रंगभूमि मैदानतर्फ प्रस्थान गर्नेछ। भगवान रामको डोला पनि फरक मार्ग हुँदै रंगभूमि पुग्नेछ, जहाँ परम्पराअनुसार भगवान सीतारामको स्वयम्वर सम्पन्न गरिनेछ।
भगवान रामको डोलालाई जानकीको डोलाले परिक्रमा गर्ने क्रममा श्रद्धालुहरूले पुष्पवृष्टि गर्दै जयजयकार गर्नेछन्। त्रेता युगको स्मरणमा जनकपुरधामका मठमन्दिरबाट सजाइएका डोला र झाँकी बाजागाजासहित मैदानमा पु¥याइने चलन छ।
स्वयम्वर सम्पन्न भएपछि डोला र झाँकीसहित शोभायात्रा नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ। वैवाहिक कार्यक्रम राति अबेरसम्म सञ्चालन हुनेछ। मिथिला परम्पराअनुसार भगवान सीतारामको विवाह गराउने तयारी छ, जसमा लाखौँ श्रद्धालुको सहभागिता रहने अनुमान गरिएको छ।
यस महोत्सवमा भारतको अयोध्याबाट आएका जन्ती, साधुसन्त, र श्रद्धालुहरू विशेष झाँकीसहित सहभागी छन्। साताव्यापी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, र पाँचौँ दिन मटकोर सम्पन्न भइसकेका छन्।
विवाह उत्सव सम्पन्न भएपछि शनिवार रामकलेवा गरिनेछ। यस क्रममा बेहुली पक्षले जन्तीलाई विदाइ भोजसहित सम्मान गर्ने परम्परा छ। जनकपुरधामको चोक, सडक, र सार्वजनिक स्थलहरू सजाइएका छन्, र मठमन्दिरहरूमा भजन-कीर्तन गुन्जिरहेका छन्। जनकपुरधामको यो महोत्सव भगवान राम र सीताको पवित्र विवाहको सम्झनामा विश्वभर विशेष मानिन्छ।