वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगञ्जको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क नामक पुस्तकको बिमोचन गरेका छन्।
नगरप्रमुख सिंहले नगरको कार्यकक्षमा आयोजित एक विशेष समारोहमा उक्त पुस्तकको बिमोचन गर्दै वीरगञ्जलाई आर्थिक, धार्मिक, औद्योगिक र पर्यटन दृष्टिकोणबाट समृद्ध बनाउनका लागि प्रकाशित विशेषाङ्कको महत्वलाई रेखांकित गरे। उनले विशेषगरी वीरगञ्जलाई एक सशक्त पर्यटन गन्तव्यका रुपमा प्रस्तुत गर्नका लागि सिम्रौनगढदेखि ठोरी माडीसम्मका सांस्कृतिक र ऐतिहासिक स्थलहरूलाई समेटिएको भन्दै पुस्तक प्रकाशनमा सहयोग पुर्याउने मुकाम मिडिया नेटवर्कको प्रयासको सराहना गरे।
नगरप्रमुख सिंहले यो अवसरमा भनें, “बैभव वीरगञ्जलाई धार्मिक र पर्यटकीय सर्किटको रुपमा विकास गर्न सकेमा यस क्षेत्रमा पर्यटनको क्षेत्रको व्यापक विस्तार सम्भव छ। यस विशेषाङ्कमा पर्सा राष्ट्रिय निकुञ्ज, चुरियामाई क्षेत्र, र अन्य धार्मिक मठमन्दिरहरूको परिचय समेटिएको छ जसले क्षेत्रको पर्यटन विकासमा सकारात्मक प्रभाव पार्नेछ।”
सिंहले, वीरगञ्जको सौन्दर्यकरण, नगरक्षेत्रको सरसफाई र प्रवेशद्वारको सुधारमा महानगरपालिकाले काम गरिरहेको बताए। यद्यपि, बजेटको अभावले गर्दा नगरबासीका अन्य धेरै चाहनाहरू पूरा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै वीरगञ्जलाई आर्थिक मात्र होइन, धार्मिक र पर्यटकीय हिसाबले पनि एक प्रमुख ‘भिजिटिङ हब’ बनाउने अभियानमा महानगर जुटिरहेको बताए।
कार्यक्रममा मुकाम मिडियाका प्रकाशक गिता भुषालले पनि नगरप्रमुख सिंहको नेतृत्वमा वीरगञ्जलाई पर्यटनको माध्यमबाट समृद्ध बनाउन विशेषाङ्क मार्फत योगदान पुर्याएको कुरा उल्लेख गरिन्।
विशेषाङ्क बिमोचन कार्यक्रममा नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, र आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारी लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।
यसअघि मुकाम मिडिया नेटवर्कका प्रकाशक गिता भुषाल र कार्यकारी निर्देशक जिके पोख्रेलले नगरप्रमुख सिंहलाई पुस्तक हस्तान्तरण गरेका थिए