सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार वीरगञ्ज ल्याइएको छ। लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै बुद्ध एयरको जहाजमार्फत सिमरा पुर्याइयो। त्यसपछि सिमराबाट गाडीमार्फत वीरगञ्ज ल्याइएको हो।
यो प्रकरणमा संलग्न भनिएका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट वीरगञ्ज लगिएको छ। पर्सा जिल्ला अदालतले १९ मंसिरमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सानोपाइला सहकारी प्रकरण
सानोपाइला सहकारीका पूर्व सञ्चालक जीबी राईको नेतृत्वमा रहेको यो सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ जम्मा गरेको थियो। ऐनविपरीत कार्यक्षेत्र बाहिर ऋण प्रवाह गरी सहकारीले ९२ करोड रुपैयाँ अपचलन गरेको आरोप छ।
सहकारीको रकम नेचर हब इन्टरनेसनल लाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालि लाई १ करोड ८५ लाख, स्प्रिङ वुड रियल स्टेट लाई १ करोड १ लाख कर्जा दिइएको थियो। साथै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, र विमला पौडेलको नाममा २ करोड ७ लाख कर्जा प्रवाह भएको खुलेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान
लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, र चितवनको साहारा सहकारीजस्ता विभिन्न सहकारीहरूसँग सम्बन्धित ठगी प्रकरणमा बयान भइसकेको छ। उनीमाथि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान थालेको छ।