पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पोखरा फर्काइने भएको छ।
मङ्गलवार दिनभर जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिइएको थियो। सरकारी वकिलको रोहवरमा बिहान १० बजे शुरू भएको बयान अपराह्न साढे २ बजेसम्म चलेको थियो।
ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगञ्ज ल्याइयो
वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएको थियो। उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरा हवाई मार्गमार्फत ल्याइएको हो।
हाल रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ। उनीमाथि ५ वटा सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।
छविलाल बन्जाडे जोशी पनि अनुसन्धानमा
यसै प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डिआइजी छविलाल बन्जाडे जोशीलाई पनि आज पोखरा फर्काइएको छ। उनको बयान सोमबार लिइएको थियो। रविका व्यावसायिक साझेदार रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थल मार्गमार्फत वीरगञ्ज ल्याइएको थियो।
अदालतमा पुनः पेश गरिने
आइतबार जिल्ला अदालत, कास्कीले लामिछाने र बन्जाडेको म्याद ४ दिन थप गरेको थियो। यस अवधिमा पर्सा प्रहरीले उनीहरूको बयान समाप्त गर्ने तयारी गरिरहेको छ। बयान सकिएपछि बिहीबार उनीहरूलाई पुनः अदालतमा उपस्थित गराइनेछ।