नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा मात्र ५१ रनमा अलआउट भयो।
सुदूरपश्चिमका बलरहरूले घातक बलिङ प्रदर्शन गरेपछि जनकपुरका ब्याटरहरू निरिह देखिए। जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी, र इशान पाण्डेले समान २-२ विकेट लिए। त्यस्तै, सैफ जैब, नरेन साउद, र स्कट कुगेलेइनले समान १-१ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। सुदूरका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए। सैफ जैबले २१ रनको योगदान दिए भने इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए। वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमै आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् भने अन्य ब्याटरहरूले पनि राम्रो प्रदर्शन गर्न सकेनन्।
पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले ५५ रनको साझेदारी गरेका थिए। तर, हर्ष थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरको इनिङ्स धरमरायो। जनकपुरका बलर किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए भने अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट हात पारे।
यो जितसँगै सुदूरपश्चिमले अंक तालिकामा जनकपुरसँग समान ८ अंक बनाएको छ। नेट रनरेटका आधारमा जनकपुर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ।