कलैयाका डेढ वर्षीय बालकको जटिल स्वास्थ्य समस्यालाई समाधान गर्दै वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालले ऐतिहासिक सफलता हासिल गरेको छ। बालकको देब्रे मिर्गौलामा पानीको फोको (शिष्ट) जमेर मिर्गौला पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पतालका विशेषज्ञ टोलीले नेफ्रेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन्।
बालकलाई लामो समयदेखि ज्वरो आउने, खाना नखाने, र स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै जाने समस्या थियो। प्रारम्भमा वीरगञ्जका विभिन्न अस्पताल र काठमाडौँस्थित कान्ति बाल अस्पताल तथा टिचिङ अस्पतालका विशेषज्ञहरूले मिर्गौला फाल्नुपर्ने सुझाव दिएका थिए। परिवारले अन्ततः वीरगञ्जमै उपचार गर्ने निर्णय गरे।
नारायणी सेन्ट्रल अस्पतालका डा. नितेश कर्ण, डा. सञ्जय शाह, र डा. नूर आलमको नेतृत्वमा शल्यक्रिया टोलीले फोकासहितको मिर्गौलाको खराब भाग हटाउने जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरे।
स्थानीय स्वास्थ्य सेवाको विश्वास वृद्धि
शल्यक्रिया सफल भएपछि बालकलाई सकुशल डिस्चार्ज गरिएको छ। परिवारजनले अस्पतालको सेवा र चिकित्सक टोलीको समर्पणप्रति गहिरो आभार व्यक्त गरेका छन्। नारायणी सेन्ट्रल अस्पतालका अनुसार यो शल्यक्रिया अस्पतालकै पहिलो जटिल प्रक्रिया हो।
विशेषज्ञहरूको प्रतिबद्धता
अस्पताल प्रशासनले यस सफलताले उच्चस्तरीय स्वास्थ्य सेवामा स्थानीयको विश्वास बढेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, "यो सफलता हाम्रो टोलीको अद्वितीय क्षमताको प्रमाण हो। भविष्यमा पनि यस्ता चुनौतीपूर्ण केसलाई वीरगञ्जमै समाधान गर्न हामी प्रतिबद्ध छौँ।"