सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको पोखरा १९.४ ओभरमा १४८ रनमा अलआउट भयो। अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक रहे पनि पोखराले २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जित नजिक पुगेर पराजित हुनुपर्यो।
कुगेलेइनको प्रभावशाली बलिङ
सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले निर्णायक प्रदर्शन गर्दै ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए। उनले अन्तिम ओभरमा ३ विकेट लिएर पोखरालाई अलआउट गरेका थिए।
सुदूरपश्चिमका लागि हर्मीत सिंहले पनि ३ विकेट लिएर बलिङमा महत्वपूर्ण योगदान दिए।
पोखराका ब्याट्सम्यानको प्रदर्शन
पोखराका लागि आन्द्रेस गौसले सर्वाधिक ३६ रन बनाएका थिए भने रेमोन रेइफरले ३३ र किरण ठगुन्नाले ३२ रनको योगदान दिए।
सुदूरपश्चिम शीर्ष स्थानमा
यस जितसँगै सुदूरपश्चिमले ६ खेलमा ५ जित हात पार्दै १० अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर बोल्ट्ससँग पनि समान १० अंक रहे पनि नेटरनरेटका आधारमा जनकपुर दोस्रो स्थानमा झरेको छ।
शीर्ष दुईमा सुदूरपश्चिमको बलियो सम्भावना
सुदूरपश्चिमले आजको जितपछि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ। अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।
चौथो स्थानका लागि संघर्ष
हालसम्म जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, र चितवन राइनोजले प्लेअफ स्थान पक्का गरिसकेका छन्। अब सोमबारको अन्तिम लिग खेलपछि चौथो टोलीको टुंगो लाग्नेछ।
कर्णालीले सुदूरपश्चिमसँग ठूलो अन्तरले हार टारेमा चौथो स्थानमा रहेर प्लेअफ पुग्नेछ। तर, कर्णाली ५३ रनभन्दा बढी अन्तरले पराजित भएमा काठमाडौं गुर्खाजले नेटरनरेटका आधारमा चौथो स्थान ओगट्दै प्लेअफको यात्रा तय गर्नेछ।