महागढीमाई नगरपालिका-१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ। गढीमाई मेला मूल व्यवस्थापन समितिका अनुसार, हालसम्म एक करोडभन्दा बढी भक्तजनले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेका छन्।
पशु बलिका लागि विश्वभर चर्चित यो मेला नेपाल र भारत मात्र नभई अन्य धेरै देशका भक्तजनहरूको पनि आकर्षणको केन्द्र बनेको छ। भक्तजनहरूले आफ्नो मनोकामना पूरा भएमा राँगा र बोकाको बलि चढाउँदै परम्परागत पूजा-अर्चना गर्ने गरेका छन्।
मेला स्थलमा अझै ठूलो भीड देखिएको छ। महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार, माघ ५ सम्म थप १५ लाख दर्शनार्थी मेलामा सहभागी हुने अनुमान गरिएको छ। उनका भनाइमा, मङ्सिर महिनाको अत्यधिक भीडका कारण कतिपय भक्तजन माघको सुरुवातमा मेला अवलोकन गर्न आइरहेका छन्।
२०८१ सालको गढीमाई मेला सुरु भएदेखि नै शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। प्रमुख यादवले मेला माघ ५ सम्म सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
दर्शनार्थीहरूको सुविधा र सुरक्षाका लागि मेला स्थलमा व्यापक व्यवस्था गरिएको छ। बिजुली बत्ती, सिसिटिभी, शौचालय, नि:शुल्क वाईफाई, मन्दिर वरपरका पार्किङ, ट्राफिक व्यवस्थापन, नि:शुल्क स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा, वारुणयन्त्र, घुम्ती एटिएम, र भोजनको समेत व्यवस्था गरिएको छ।