गृहमन्त्री रमेश लेखकले भारतीय सीमासँग जोडिएका लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा भइरहेको राजस्व चुहावट र तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई गम्भीर भएर लाग्न निर्देशन दिएका छन्। गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमामा भइरहेका अपराध, तस्करी र राजस्व चुहावटलाई तत्काल रोक्न आदेश दिएका हुन्।
उनले तस्करी नियन्त्रण र राजस्व असुलीका लागि प्रभावकारी नतिजा ल्याउनुपर्ने भन्दै त्यसमा असफल भए जिम्मेवार अधिकारीलाई दण्डित गरिने चेतावनी दिए। गृहमन्त्री लेखकले भने, ‘सीमापार अपराध र तस्करीका कारण राजस्व चुहावट भइरहेको छ। यो गोष्ठीपछि यस्ता गुनासाहरू सुन्न नपरोस्।’
साइबर अपराध र शान्ति सुरक्षाको विषयमा चासो
गृहमन्त्री लेखकले पछिल्लो समय बढ्दै गएको साइबर अपराध नियन्त्रण गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिए। उनले संविधानले प्रत्याभूत गरेका मौलिक हक र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षाको मजबुती आवश्यक रहेको बताए। ‘शान्ति सुरक्षा खलबलिने बित्तिकै जनताका मौलिक हक गुम्ने भएकाले यसको संरक्षणमा गम्भीर हुनुपर्छ,’ उनले भने।
कानुन पालनामा सबैको जिम्मेवारी
गृहमन्त्रीले कानुन सबैका लागि समान हुने र यसको पालना गर्नु सबै नागरिकको दायित्व भएको बताएका छन्। ‘कानुनले कसैलाई विभेद गर्दैन। ऐन र नियमको पालना गर्नु नागरिकको कर्तव्य हो,’ लेखकले भने।
गोष्ठीमा उच्चस्तरीय सहभागिता
दिनभर चलेको उक्त गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका गण तथा बाहिनी प्रमुखहरूको सहभागिता थियो। गोष्ठीको उद्देश्य सीमामा हुने तस्करी, राजस्व चुहावट र साइबर अपराध नियन्त्रणका लागि साझा रणनीति बनाउनु रहेको थियो।