भारतको उत्तरप्रदेश सरकारको पर्यटन विभागको आयोजनामा यसै हप्ता जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव आयोजना हुने भएको छ। रामायण सर्किट अन्तर्गत समावेश जनकपुरधाममा हुने यो दुईदिने काँन्क्लेव पुस ६ र ७ गते जानकी मन्दिर परिसरमा सञ्चालन हुनेछ।
त्रेतायुगदेखि जोडिएको ऐतिहासिक सम्बन्ध
उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीच त्रेतायुगकालीन ऐतिहासिक सम्बन्ध छ। भगवान रामले त्रेतायुगमा भगवान शिवको धनु तोडेर मिथिलाकी राजकुमारी सीताको विवाह गरेका थिए। यो सांस्कृतिक र धार्मिक इतिहासलाई जोगाउँदै रामायण सर्किटको विकास गरिएको हो। रामायण सर्किट अन्तर्गतका प्रमुख धार्मिक गन्तव्यहरूमध्ये जनकपुरधाम र धनुषाधाम पनि पर्दछन्।
कार्यक्रमका मुख्य आकर्षणहरू
काँन्क्लेवमा भजन सम्राट पद्मश्री अनुप जलोटाको भजन सन्ध्या, मिथिला नाट्यकला परिषदद्वारा प्रस्तुत जानकी लीला, र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिनेछ। उद्घाटन सत्रको अध्यक्षता मधेश प्रदेशकी राज्यपाल सुमित्रा भण्डारीले गर्नेछिन् भने मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह मुख्य अतिथि रहनेछन्। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह विशिष्ट अतिथि हुनेछन्।
उत्तरप्रदेश सरकारका संस्कृति एवं पर्यटन मन्त्री जयवीर सिंह, संस्कृति विभागका निर्देशक शिशिर, र रामायण एवं वैदिक शोध संस्थानका अधिकारीहरू कार्यक्रमका विशिष्ट सहभागी हुनेछन्।
मुख्यमन्त्री योगी आदित्यनाथको सम्भावित उपस्थिति
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले काँन्क्लेवको उद्घाटन गर्ने सम्भावना रहेको छ। उनले यसअघि तीन वर्षअघि सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम भ्रमण गरेका थिए। उनका भ्रमणबारे मंगलबारसम्म टुंगो लाग्ने जानकारी जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवले दिएका छन्।
नेपाल-भारत सम्बन्धको प्रगाढता
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले काँन्क्लेवले नेपाल र भारतबीचको प्राचीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। रामायणकालीन स्मृतिहरूलाई ताजा राख्न रामनवमी, जानकी नवमी र सीताराम विवाह महोत्सवजस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याएको उनको भनाइ छ।
कार्यक्रम तयारी र महत्व
उत्तरप्रदेश संस्कृति विभागका अधिकारीहरूले सोमबारदेखि जनकपुरधाममा कार्यक्रम तयारीका लागि सरोकारवालाहरूसँग छलफल सुरु गरेका छन्। रामायण सर्किटमार्गमा जोडिएको जनकपुरधाममा भारतीय पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। रेलद्वारा सञ्चालित रामायण सर्किट भ्रमणमा जनकपुरधाम एक प्रमुख गन्तव्य बनेको छ।