विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
जानकी मन्दिर, जनकपुरधामको तत्वावधानमा सम्पन्न महासंघको ११औं अन्तर्राष्ट्रिय महासम्मेलन तथा महासभाले भण्डारीलाई सर्वसम्मत रूपमा अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको हो।
जानकी मन्दिरका महन्त श्रीराम तपेश्वर दास वैष्णव प्रमुख संरक्षक रहेको उक्त महासम्मेलनको उद्घाटन प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महन्त राम तपेश्वरले संयुक्त रूपमा गर्नुभएको थियो।
महासम्मेलनका प्रमुख बुँदा:
- हिन्दू अधिराज्यको पुनः स्थापनाको उद्घोषसहित जानकी मन्दिरबाट शोभायात्रा गरी जनकपुर नगर परिक्रमा गर्दै महासम्मेलनको शुभारम्भ।
- भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति।
- भारतका उत्तर प्रदेश, गोरखनाथ मन्दिर लगायत सबै प्रदेशका अध्यक्षहरूको सहभागिता।
महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, तथा अन्य प्रस्तावहरू प्रस्तुत र पारित गरिएको थियो। अध्यक्ष पदको निर्वाचन सम्पन्न गर्न उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो।
अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेको कारण भण्डारीलाई सर्वसम्मत रूपमा निर्वाचित घोषणा गरिएको हो। यससँगै विश्व हिन्दू महासंघको इतिहासमा पहिलो पटक महिलाले अध्यक्षता गर्ने अवसर प्राप्त भएको छ।
अध्यक्षको प्रतिबद्धता:
अध्यक्षमा निर्वाचित भएपछि भण्डारीले विज्ञप्ति जारी गर्दै महासम्मेलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले हिन्दू अधिराज्य पुनः स्थापनाका लागि समान विचारधारा भएका संघ-संस्था, राजनीतिक दल र अभियानहरूसँग सहकार्य गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ।
भण्डारीले भन्नुभयो, "जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम रोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बुद्धिमान तामाङ, नेपाल-भारतका सम्पूर्ण सन्तगण र सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। हिन्दू अधिराज्य पुनः स्थापनाका लागि सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु।"
महासम्मेलनले हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।