मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा स्वास्थ्य बिमाको कभरेज बढाउन र बिमितहरूलाई प्रदान गरिने सेवासुविधा प्रभावकारी बनाउन स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा अन्य प्रदेशहरूको तुलनामा स्वास्थ्य बिमा गराउनेहरूको संख्या कम रहेको भन्दै यसलाई वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री सिंहले बिमा प्रक्रियामा सरलीकरण, जनचेतना अभिवृद्धि, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति परिचालन, व्यावसायिक बिमा एजेन्टको व्यवस्थापन जस्ता पहलहरू तत्परतापूर्वक अघि बढाउन निर्देशन दिए। उनले बिमावापतको रकम अस्पतालले समयमा नपाउने, बिमितको शल्यक्रिया तथा उपचार कार्यमा ढिलाइ हुने, इच्छाएको बेला बिमा दर्ता नहुने र समयमै सक्रिय नहुने समस्याहरू समाधान गर्न सम्बद्ध पक्षसँग छलफल गर्न स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरे।
मुख्यमन्त्री सिंहले प्रदेशका विभिन्न अस्पतालहरूमा बिमामार्फत् प्राप्त हुने स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने र प्रत्येक अस्पतालमा स्वास्थ्य बिमा डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए। साथै, स्वास्थ्य बिमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एजेन्टका रूपमा जिम्मेवारी दिने सम्भावना अध्ययन गर्न सुझाव दिए।
उनले प्रदेशका कर्मचारी र उनीहरूको परिवारलाई स्वास्थ्य बिमाको दायरामा अनिवार्य ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए। यसअघि, प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रममा अनिवार्य सहभागिताको निर्णय गरिसकेको छ।
मुख्यमन्त्रीसँगको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेश सचिव राजेशकुमार मिश्र, अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. वर्षा प्रकाश, नर्सिङ्ग प्रशासक सुनिता गुप्ता, जनस्वास्थ्य अधिकृत विजयकुमार यादव लगायतका अधिकारीहरूको उपस्थिति थियो।