जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति रास्वपा सभापति रवि लामिछाने भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा फोटोबारे विवाद उत्पन्न भएको छ।
भाइरल तस्बिरमा एउटा व्यक्ति टोपी लगाएर सिरक ओढी सुतिरहेको देखिन्छ। तस्बिरको छेउमा किताबहरू देखिन्छन्। अर्को फोटोमा भने टेबल नदेखिने भएकोले यी तस्बिरको प्रामाणिकताबारे बहस सुरु भएको छ।
रास्वपा कार्यकर्ताहरूले यो फोटो कास्की हिरासतभित्रकै रहेको र रविको भएको दाबी गर्दै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। तर कतिपयले यसलाई 'फेक' भन्दै प्रतिक्रिया दिएका छन्।
प्रहरीले अनुसन्धान गरिरहेको जानकारी
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्त कुमार शर्माले यो विषयमा अनुसन्धान भइरहेको बताए। उनले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “हामी फोटोको विषयमा अनुसन्धान गरिरहेका छौं।”
जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले पनि यो फोटोको वास्तविकता पुष्टि हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको जनाएका छन्। ती अधिकारीका अनुसार उक्त तस्बिर रवि लामिछानेकै हो कि होइन भन्नेबारे प्रष्ट हुन अनुसन्धान थालिएको छ।
रास्वपा कार्यकर्ताको दाबी र विवाद
रास्वपाका कार्यकर्ता डा. निकोलस भुसालले यो फोटो आफूले खिचेको दाबी गरेका छन्। फेसबुकमा उनले लेखेका छन्, “यो फोटो वास्तविक हो, मैले नै खिचेको हो।” उनले वास्तविकता छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
यस्तै, रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले यो तस्बिर रविकै भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा कतै भेटेर उक्त फोटो फेसबुकमा पोष्ट गरेको बताएका छन्। उनले सीसीटीभी फुटेजबाट प्रहरीले स्क्रिनसट लिएर यो तस्बिर बाहिर ल्याएको आरोप लगाएका छन्।
कानुनी प्रश्न र सम्भावित कारबाही
कानुनका जानकारहरूका अनुसार कसैको अनुमति बिना तस्बिर खिच्न र सार्वजनिक गर्न कानुनतः निषेध गरिएको छ। अधिवक्ता विनोदमणि भट्टराईका अनुसार न्यायिक हिरासतमा राखिएको व्यक्तिको फोटो वा भिडियो सार्वजनिक गर्नु मुलुकी संहिताले दण्डनीय ठहर गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका एक अधिकारीले यो प्रकरण साइबर अपराध अन्तर्गत पर्ने सम्भावना रहेको बताएका छन्। “फोटो कहाँ खिचियो, कसरी बाहिर आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। फोटोमा देखिएका व्यक्ति नेपालकै भए साइबर क्राइमको व्यवस्था लागू हुनसक्छ,” ती अधिकारीले बताए।
यस विषयमा सम्बन्धित पक्षले सत्यतथ्य पत्ता लगाउन र कानुनी कारबाही प्रक्रिया अघि बढाउन पहल गरिरहेको जनाइएको छ।