पर्साको बहुदरमाइ नगरपालिकामा विद्यार्थीहरूले कार्यालयका कागजात तथा फर्निचरहरूमा आगो लगाएका छन्। बिहीबारदेखि पठनपाठन अवरुद्ध भएपछि आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।
शुक्रबार बिहान पनि आफ्ना मागप्रति मेयर सिंगासन साह तेली गम्भीर नभएको भन्दै विद्यार्थीहरूले कार्यालयका सामग्रीहरू बाहिर निकालेर जलाएका हुन्।
बहुदरमाइ वडा नं. ४ का वडाध्यक्ष सुरेन्द्र यादवका अनुसार विद्यार्थीहरूले कुर्सी, टेबल, दराज, कागजात, र कम्प्युटरलगायतका सामग्रीहरू बाहिर निकालेर आगो लगाएका छन्।
यादवले जानकारी दिएअनुसार, शिक्षकहरूले लामो समयदेखि तलब नपाएको कारण विद्यालय बन्द गरिदिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्। पठनपाठन ठप्प भएपछि बिहीबार बिहान आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।
६ महिनादेखि तलब नपाएको आरोप
वडाध्यक्ष यादवका अनुसार, शिक्षकहरूले झण्डै ६ महिनादेखि तलब नपाएको गुनासो गर्दै विद्यालय बन्द गरेका हुन्। "शिक्षकहरूको निर्णयले विद्यार्थीहरूमा आक्रोश पैदा भयो, त्यसपछि उनीहरूले संयुक्त रूपमा आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरे। अहिले पनि त्यो ताल्चा खुलाइएको छैन," यादवले भने।
मेयर सिंगासन साह तेलीले बजेटमा अख्तियारी नदिएको कारण नगरपालिकाको खाता सञ्चालन हुन नसकेको यादवले बताए। यो कारणले शिक्षक, कर्मचारी, तथा ज्येष्ठ नागरिकहरूले समेत भत्ता लिन नसकेको उनले जानकारी दिए।
नगर परिषद् सम्पन्न भइसकेको भए पनि मेयर तेलीले बजेट खर्चको अधिकार नदिँदा समस्या थप चर्किएको यादवको भनाइ छ।