सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालयले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसहितका व्यक्तिहरूलाई १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने सुझाव दिइएको छ।
म्याद आज मध्यरातमा समाप्त हुने
प्रतिवेदन अध्ययनका लागि पुस १ गतेदेखि अदालतले चार दिनको म्याद थप गरेको थियो। चार दिनको म्याद आज (शुक्रबार) मध्यराति सकिँदैछ। शनिबार सार्वजनिक बिदा परेकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका अनुसार कानुनअनुसार ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आइतबारसम्म समयसीमा छ। "सकेसम्म आजै नभए आइतबारसम्म अभियोजन हुनेछ," सरकारी वकिल कार्यालय स्रोतले बतायो।
सहकारी ठगी प्रकरणमा संलग्नता
संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कले विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको ठहर गरेको छ। त्यसमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको साहारा बहुउद्देश्यीय सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, र नेपालगञ्जको समानता सहकारीको रकम अपचलन भएको बताइएको छ।
छानबिन समितिले लामिछानेविरुद्ध कानुनी कारबाहीको सिफारिस गरेको थियो। त्यसअनुसार सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा गत असोज ६ गते छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। कात्तिक २ गते रवि लामिछानेलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका उनीहरूलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं, र वीरगञ्जमा लगेर बयान गराइएको छ। संगठित अपराधअन्तर्गतको मुद्दामा ९० दिनभित्र अदालतमा अभियोजन गरिसक्नुपर्ने कानुनी प्रावधानअनुसार छविलालको म्यादको आधारमा रविको मुद्दा पनि समयमै दर्ता गरिने तयारी छ।