नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि स्थायी नियुक्तिको विज्ञापन खुला गरेको छ। शुक्रबार जारी गरिएको विज्ञापनअनुसार तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ पद र तह ५ (सहायकस्तर) का ८८८ पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट पूर्ति गरिनेछ। सबै पदका लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ। दरखास्त दिने अन्तिम म्याद पुस २५ गते तोकिएको छ भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
उमेर हदबन्दी:
अधिकृतस्तरका लागि तह ८ वा माथिका पदमा आवेदन दिनका लागि उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। तह ७ का पदका लागि २१ देखि ३५ वर्षभित्रको उमेर तोकिएको छ। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा उमेर सीमा ४० वर्षसम्म रहेको छ। सहायकस्तर तह ५ का पदमा १८ देखि ३५ वर्षको उमेर सीमा तोकिएको छ, तर महिला र अपाङ्गता भएका उम्मेदवारका लागि यो सीमा ४० वर्षसम्म रहेको छ। प्राधिकरणका स्थायी कर्मचारीलाई भने उमेर हदबन्दी लागू हुने छैन।
पद विवरण:
अधिकृतस्तरमा सबैभन्दा बढी माग इलेक्ट्रिकल इन्जिनियर पदका लागि छ, जहाँ ६२ पद खुला गरिएको छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ। प्रशासकीय अधिकृतका लागि ३८ पद, लेखा अधिकृतका लागि ३१ पद, कम्प्युटर इन्जिनियरका लागि २१ पद, र सिभिल इन्जिनियरका लागि ९ पद खुला गरिएको छ। तह ८ सहायक प्रबन्धक पदका लागि ८ जना र चार्टर्ड एकाउन्टेन्टका लागि पनि ८ पद माग गरिएको छ।
सहायकस्तरमा मिटर रिडिङ सुपरभाइजरका लागि ४१ पद, लेखापालका लागि ३९ पद, इलेक्ट्रिकल सुपरभाइजरका लागि ७४० पद, मेकानिकल सुपरभाइजरका लागि १९ पद र सिभिल सुपरभाइजरका लागि ३ पद माग गरिएको छ। यी पदका लागि १२ कक्षा उत्तीर्ण वा सम्बन्धित प्राविधिक विषयमा डिप्लोमा तह उत्तीर्ण हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ।
कार्यस्थल र स्थानान्तरण:
अधिकृतस्तरका कर्मचारीले नेपालभर काम गर्नुपर्नेछ। सहायकस्तरका कर्मचारीहरूले आवेदन दिने प्रदेशअन्तर्गतको कार्यालयमा ७ वर्षसम्म अनिवार्य सेवा गर्नुपर्नेछ।
इच्छुक उम्मेदवारले तोकिएको समयभित्र प्राधिकरणको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।