जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। यससँगै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा चलाइएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माका अनुसार रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। तर, निकिता पौडेलसँग सम्बन्धित आरोपबारे विस्तृत जानकारी उनले सार्वजनिक गरेकी छैनन्।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। कसुरमा संलग्न नभएका व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति भेटिएमा जफत प्रयोजनका लागि उनीहरूलाई प्रतिवादी बनाउने चलन रहेको छ।
सहायक न्यायाधीवक्ता शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मात्र मुद्दा चलाइएको स्पष्ट पारिन्। त्यस्ता व्यक्तिहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगअनुसारको सम्पत्ति मात्र जफत हुने तर अन्य दण्डसजाय नहुने व्यवस्था रहेको छ।
प्रतिवादी बनाइएकाहरूमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं, र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गरिएको छ।
यस प्रकरणमा कुल ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको सहायक न्यायाधीवक्ता शर्माले जानकारी दिइन्। तीमध्ये ३१ जनालाई प्रतिवादी बनाइएको छ, जसमा आठवटा कम्पनीहरू समेत सामेल छन्।
सम्पत्ति शुद्धीकरणका आरोपमा रवि लामिछानेकी पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा बन्जाडे, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाईं, र दिदी गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने माग गरिएको छ।
सरकारी वकिल कार्यालयले यो प्रकरणलाई गम्भीर रूपमा लिँदै थप अनुसन्धान जारी राखेको जनाएको छ।