राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा आएको रकम सहकारीबाट आएको भन्ने कुनै आधिकारिक दस्तावेज नभएको दाबी गरेका छन्। उनले आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा दर्ता भएको मुद्दामा बयान दिएका छन्।
लामिछानेले आफू माथि लागेको आरोपको इन्कार गर्दै भनेका छन्, "गोर्खा मिडियाले मेरो जानकारी, सहमति, उपस्थिति वा योजनामा कुनै पनि सहकारी संस्थाबाट पैसा लिने लिखित वा मौखिक कुनै प्रकारको सहमति, सम्झौता, करार गरेको थिएन। उनीहरूले गरेको लगानीको स्रोत सहकारी संस्थाबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिडियामा प्राप्त छैन र थिएन।"
उनले थप भने, "सहकारीबाट रकम लिने कार्यमा म कुनै पनि किसिमबाट संलग्न नरहेको र सहकारीको रकम मैले उपभोग समेत नगरेको हुँदा सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन।"
लामिछानेले २०७७ असार ३१ गते सहकारीमा आफ्नो नाम राखेर एक करोड ऋण देखाइएको कुरा थाहा पाएको र सहकारीबाट ऋण लिने कार्यमा आफू संलग्न नभएको स्पष्ट पारेका छन्। उनले भने, "यदि मैले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथा ताकेता आउनुपर्ने थियो, गैर कानूनी ढंगबाट ऋण लिइएको मलाई जानकारी छैन।"
यसैगरी, लामिछानेले गोर्खा मिडियामा १५ प्रतिशत स्वेट शेयर र आकर्षक एडभान्स, तलब सहितको सेवा सुविधा दिने भनी सहमति भएको र मिडियामा काम गरेपछि १ प्रतिशत ५ शेयर सदस्यमा राखिएको उल्लेख गरेका छन्।
साथै, उनले २०७९ असार १ गतेसम्म गोर्खा मिडियामा कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईसँगको सल्लाहमा शेयर सदस्यको रूपमा काम गरेपछि निःशुल्क शेयर फिर्ता गरेर कम्पनीबाट राजीनामा दिएको बताएका छन्।