नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो संस्करणको फाइनल खेल वीरगञ्जका दुई दाजुभाइ आरिफ शेख र आसिफ शेखका लागि मात्र होइन, उनीहरूको परिवारका लागि पनि अविस्मरणीय बन्यो। वीरगञ्ज महानगरपालिका(१२, मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीनका छोराहरू फरक(फरक टिमबाट प्रतिस्पर्धा गर्दै फाइनलमा पुग्दा घरमै छुट्टै उत्साहको माहोल थियो।
शनिबार काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा आरिफ शेख सुदूरपश्चिम रोयल्सको तर्फबाट खेले भने आसिफ शेख जनकपुर बोल्ट्सको कप्तानको भूमिकामा थिए। खेलको अन्त्यमा जनकपुर बोल्ट्सले पाँच विकेटले जित हात पार्दै उपाधि जित्न सफल भयो।
बुबाआमाको फरक समर्थन, तर एउटै खुसी
आरिफ र आसिफका बुबा मोहम्मद सलाम शेख कान्छो छोरा आसिफको टिम जनकपुर बोल्ट्सको समर्थनमा थिए भने आमा समा प्रवीन जेठो छोरा आरिफको टिम सुदूरपश्चिम रोयल्सको समर्थक थिइन्।
मोहम्मदले भने, “दुवै छोराले फाइनल खेले भन्ने नै हाम्रो लागि सबैभन्दा ठूलो गर्व हो। एउटा टिम जित्ने र अर्को टिम हार्ने पक्का भएकाले मैले बाध्य भएर कान्छो छोराको टिमलाई समर्थन गरें।”
आमाको अनुहार भने अलिकति खिन्न देखिन्थ्यो। उनले भनिन्, “मलाई त दुवै छोराले जितून् भन्ने लागेको थियो। तर खेलमा त एकजना मात्रै जित्न सक्छ।”
खेल मैदानदेखि घरसम्मको माहोल
सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्दै १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आमा समा प्रवीनलाई आफ्नै टिमले जित्ने भरोसा थियो। तर, जनकपुर बोल्ट्सले १९।२ ओभरमै लक्ष्य पूरा गर्दा बुबा मोहम्मद दङ्ग परे।
दुवै दाजुभाइकी बहिनी मुस्कान प्रवीण भने दुवैको समर्थक बनिन्। उनले भनिन्, “मेरो लागि दुवै दाजु समान हुन्। जसले जिते पनि हामी सबैलाई गर्व छ।”
आरिफ र आसिफको क्रिकेट यात्रा
आरिफ र आसिफको सफलताको पछाडि बुबा मोहम्मदको ठूलो त्याग छ। उनले सानैदेखि छोराहरूलाई क्रिकेट खेल्नका लागि आवश्यक सामग्री र हौसला दिएका थिए।
आरिफ, जो नेपाली राष्ट्रिय टिमका भरपर्दा खेलाडी हुन्, वीरगञ्जको नारायणी रंगशालाबाट क्रिकेट यात्रा सुरु गरेका थिए। फाइनल खेलमा भने उनले तीन बल मात्रै खेलेर एक रन बनाए।
आसिफले कप्तानको भूमिकालाई उत्कृष्ट रूपमा निर्वाह गर्दै ३३ रन बनाए। जनकपुर बोल्ट्सले उनलाई टिममा ल्याउन २० लाख रुपैयाँ खर्च गरेको थियो।
विश्वकप जित्ने बुबाको सपना
मोहम्मद सलाम शेखले आफ्नो ठूलो सपना व्यक्त गर्दै भने, “म चाहन्छु नेपाली क्रिकेटले विश्वकप जितोस्। छोराहरूले जुनसुकै टिमबाट खेले पनि उनीहरूको प्रगति नै मेरो गर्वको कुरा हो।”
आमाले भने नेपाली क्रिकेट खेलाडीहरूको आर्थिक अवस्था सुधार्नुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, “खेलाडीहरूले क्रिकेट खेल्दै राम्रो जीवन बिताउन सक्ने वातावरण बन्यो भने नयाँ पुस्ता क्रिकेटतर्फ आकर्षित हुनेछ।”
यो फाइनल खेल केवल दुई छोराको प्रतिस्पर्धा मात्रै थिएन। यो शेख परिवारको मेहनत, संघर्ष र सपनाको कथा पनि थियो। चाहे जित कसको पनि होस्, यो पल नेपाली क्रिकेट र शेख परिवारको गौरवपूर्ण क्षण बनेर रह्यो।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १०:१६