सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आजदेखि जिल्ला अदालत कास्कीमा सुरु हुँदैछ।
यसअघि, प्रहरी र सरकारी वकिलको कार्यालयले लामिछानेसँग लिएको बयानका आधारमा आइतबार उनीसहित ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।
बयान सकिएपछि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने विषयमा थुनछेक बहस हुनेछ। यसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा रिहा गर्ने निर्णय गर्नेछन्। त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्नेछ।
मुद्दा र सजायका आधारहरू
तीन वर्षभन्दा बढी कैद सजाय मागदाबी भएका मुद्दामा भरपर्दो प्रमाण रहेको अवस्थामा अदालतले आरोपितलाई थुनामा पठाउने चलन छ। तर, आरोपको गम्भीरता, प्रमाणको सान्दर्भिकता तथा थुनाबाहिर रहँदा आरोपितले मुद्दामा पार्न सक्ने प्रभावका आधारमा न्यायाधीशले निर्णय गर्नेछन्।
लामिछानेको निलम्बन
आइतबार अदालतमा मुद्दा दायर भएसँगै लामिछाने प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन्। सम्पत्ति शुद्धीकरणको अभियोग लाग्दा सार्वजनिक पदमा रहेको व्यक्ति निलम्बनमा पर्ने कानुनी व्यवस्था अनुरूप संघीय संसद सचिवालयलाई औपचारिक जानकारी दिइएको छ। मुद्दा किनारा नलागेसम्म उनी निलम्बनमै रहनेछन्।
सहकारी ठगी प्रकरण
रवि लामिछानेले जीबी राईसहितको समूहसँग मिलेर गोर्खा मिडिया नेटवर्क सञ्चालन गरेका थिए, जसबाट ग्यालेक्सी टिभी सञ्चालन भइरहेको छ। जीबी राई आवद्ध सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा रकम प्रवाह भएको र ती सहकारीहरूको बचत दुरुपयोग गरेको आरोप छ।
एक अर्ब ५१ करोड बिगो मागदाबी
प्रहरीले लामिछानेसहितको समूहमाथि सहकारीको बचत ठगी गरेको आरोपमा १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको छ। संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोगसमेत लगाइएको छ।
अन्य जिल्ला पनि अनुसन्धानमा
कास्की अदालतमा मुद्दा दर्ता भए पनि रूपन्देही, चितवन, काठमाडौं र पर्सा जिल्लामा पनि सहकारी ठगीका विषयमा अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।